खरसाङ, 07 मार्च (हि.स.)। अन्तरराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विभिन्न ग्राम पञ्चायतहरुमा तीन दिने कार्यक्रम आयोजना भइरहेको छ। यसै क्रममा आज खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा पनि अन्तरराष्ट्रिय नारी दिवससितै स्वच्छतामाथि सचेतना कार्यक्रम आयोजना गरियो।
सरकारी निर्देशन अनुसार, 6, 7 र 8 मार्च तीन दिवसीय अन्तरराष्ट्रिय नारी दिवस पालन गरिॅंदैछ। आज महानदी ग्राम पञ्चायतमा अन्तरराष्ट्रिय नारी दिवससितै स्वच्छतालाई लिएर सचेतना ऱ्याली आयोजना गरियो। उक्त ऱ्याली महानदी ग्राम पञ्चायत परिसरदेखि शुरु भएर तिरसठ लाइन, महानदी बजार हुॅंदै महानदीको चौकीडाँडासम्म पुगेर पुन: पञ्चायत कार्यालयमा आइपुगेर समापन गरियो।
सचेतना ऱ्यालीमा स्थानीयहरुलाई सर सफाई र मैलाहरु सठीक ठाउँमा फ्याक्नु पर्ने विषयमा जागरुक गराइयो। यसका साथै महानदी क्षेत्रका घरहरुमा र दोकानमा डस्टबीन पनि वितरण गरिएको छ। आगामी दिनहरूमा पनि कार्यक्रम आयोजना गरेर महानदी ग्राम पञ्चायतका विभिन्न संसदहरुमा डस्टबीन वितरण गरिने बताइएको छ।
उक्त सचेतना ऱ्यालीमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, सचिव पेन्चेन लहमु शेर्पा लगायत विभिन्न स्वनिर्भर दलका सदस्यहरु, आँगनवाडी, आशाकर्मी साथै भीभीडी र भीएसडीहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक