भाजपा सरकारमा पूर्वोत्तर राज्यहरू विकासको मञ्च बनेको छ: मुख्यमन्त्री तामाङ
मुख्यमन्त्री प्रेमसिंह तामाङ


गान्तोक, 07 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम भारतमा विलय भएको 50 वर्ष पूरा भएको अवसरमा वर्षभरी समारोह आयोजना गर्ने बताएका छन्। उनले आगामी 16 मई राज्य दिवस समारोहपछि वर्षव्यापी कार्यक्रमको शुभारम्भ गरिने बताएका छन्।

नयॉं दिल्लीमा आज आयोजित इण्डिया टुडे कनक्लेवमा बोल्दै मुख्यमन्त्री तामाङले उक्त जानकारी गराएका हुन्। मुख्यमन्त्रीको साथमा केन्द्रिय मन्त्री किरेन रिजिजु पनि सहभागी थिए।

मुख्यमन्त्री तामाङले 2025 सिक्किमको निम्ति ऐतिहासिक वर्ष रहेको बताए। उनले आगामी 16 मई राज्य दिवस समारोहमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निमन्त्रणा गरिएको र प्रधानमन्त्रीले निमन्त्रणालाई स्वीकार गरेको थप जानकारी गराए। प्रधानमन्त्री मोदीले 16 मईमा राज्य दिवस कार्यक्रम उद्घाटन गरेपछि वर्षव्यापी समारोहको शुभारम्भ हुने पनि उनले बताए।

अन्तरक्रियाको क्रममा मुख्यमन्त्रीले 2027 सम्ममा सिक्किम देशको रेलमार्ग मानचित्रमा सामेल बन्ने जानकारी गराए। उनले केन्द्र सरकारको हस्तक्षेपपछि अहिले राष्ट्रिय राजमार्ग 10 उन्नयनको कार्य भइरहेको अवगत गराए। उनले पाकिम हवाई अड्डाको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार आएपछि नै सिक्किममा हवाई सम्पर्क जडान हुन सकेको बताए। उनले मौसम र तकनीकी समस्याका कारण कहिले काहीं विमान अवतरणमा समस्या हुने गरेको बताए।

एक प्रश्नको जवाफमा मुख्यमन्त्री तामाङले भाजपा सरकारसॅंग मिलेर काम गरिरहेको र भाजपाले पनि ठूलो दाजुको रूपमा आशीर्वाद दिइरहेको बताए। उनले केन्द्र सरकारद्वारा वित्त पोषणमा कुनै प्रकारको कमि नरहेको र राज्यमा विकासका कार्यहरू भइरहेको बताए। पहिले पूर्वोत्तर राज्यहरूलाई केवल एउटा राजनीतिक मञ्चको रूपमा प्रयोग गरिन्थ्यो भने वर्तमानमा पूर्वोत्तर विकासको मञ्च बनेको उनले बताए।

मुख्यमन्त्रीले जलवायु परिवर्तनलाई लिएर सिक्किम सरकार गम्भीर रहेको बताउॅंदै यस दिशामा उठाइएका विभिन्न पहलहरूको बारेमा बताए। उनले मेरो रुख, मेरो सन्तति लगायत अन्य राज्य सरकारका उल्लेखनीय योजनाहरूको बारेमा पनि जानकारी गराए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande