खरसाङ, 07 मार्च (हि.स.)। खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको सिपाहीधुरामा तीनवटा सार्वजनिक भवनको निर्माणको लागि खरसाङ अभियान्त्रिकी विभागबाट आज नापजोख गरिएको छ।
प्राप्त जानकारी अनुसार, सिपाहीधुराका प्रतिनिधिहरुले यहाँका विभिन्न समस्याहरू जीटीए प्रमुख अनित थापा समक्ष राखेपछि जीटीए प्रमुखको निर्देशनमा सम्बन्धित विभागका अभियन्ताहरूले आज सिपाहीधुरामा सार्वजनिक भवन निर्माणको लागि सर्वेक्षण गरेका हुन्। सिपाहीधुराको विभिन्न समस्याहरुमध्ये सार्वजनिक भवनको समस्या समाधानका लागि पहल गरिएको बताइएको छ।
यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधानले सिपाहीधुरा क्षेत्रका विभिन्न समस्याहरुको समाधानका लागि जीटीए प्रमुख कार्यपाल अनित थापा समक्ष अनुरोध गरिएको बताए। यसै क्रममा आज सिपाहीधुरा क्षेत्रमा सार्वजनिक भवनको समस्या समाधानका लागि खरसाङ अभियान्त्रिकी विभागबाट नापजोखको काम भएको उनले बताए। उनले क्षेत्रका अन्य समस्याहरु पनि समाधान गरिने कुरामा आफूहरू आशावादी रहेको बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक