खरसाङ, 8 मार्च (हि.स.)। खरसाङ खण्ड अन्तर्गत पंखाबारीमा आज बिहान आगलागीको घटना भएको जानकारी प्राप्त भएको छ। स्थानीय कबीर लामाले जनाए अनुसार, आज बिहान प्रायः साढे नौ बजीदेखि यहाँको नयाँ गाउँ नजिकको जंगलबाट आगो लाग्न शुरू भएको अनि त्यो आगो पंखाबारी बजारसम्म फैलियो।
घटनाको जानकारी पाएपछि खरसाङ अग्निशमन विभागबाट दमकल आएर तथा स्थानीय मानिसहरूको प्रयासमा लगभग दुई घण्टाकाे अथक प्रयासपछि आगोलाई नियन्त्रित गरिएकाे लामाले बताए। यस क्षेत्रमा प्रायः प्रत्येक वर्ष नै हिउँदको समयमा यसरी नै आगो लाग्ने गर्दछ। यस कारण, यहाँ एउटा अग्निशमन केन्द्रको स्थापना भइदिए असल हुने स्थानीय मानिसहरूले बताएका छन्।
आज क्षेत्रीय सभासद कल्पना प्रधानको सहयोगमा खरसाङ अग्निशमनबाट दमकल उपलब्ध गराइए तापनि यहाँबाट खरसाङ बजार केही टाढा भएकाले दमकल आउन समय लागेको उनले बताए। यद्यपि विभागीय कर्मचारीहरू आएर आगोलाई नियन्त्रणमा ल्याउन सकेको जनाउँदै लामाले क्षेत्रीय सभासद लगायत अग्निशमन विभागका अधिकारी, कर्मचारीहरू रा स्थानीय मानिसहरूप्रति आभार प्रकट गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक