गान्तोक, 08 मार्च (हि.स.)। भाजपा सिक्किम महिला मोर्चाले आज अन्तरराष्ट्रिय महिला दिवसलाई उत्साहको साथ मनायो। प्रदेश भाजपाको गान्तोकस्थित सिटी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्र सरकारका सेवानिवृत्त कर्मचारी टी. नोर्जिङ भोटिया मुख्य अतिथि, प्रदेश अध्यक्ष डीआर थापा विशेष अतिथि र पार्षद विन्ध्या सिन्चुरी विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।
मुख्य अतिथि भोटियाले आयुष्मान भारत योजनाको लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस योजनाले ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। आफ्नो व्यक्तिगत अनुभव साझा गर्दै उनले 85 वर्षको उमेरमा पनि आफूले 5 लाख रूपियॉंसम्मको चिकित्सा कभरेज प्रदान गर्ने यस योजनाबाट लाभान्वित बनेको जानकारी गराइन्।
विशेष अतिथि प्रदेश अध्यक्ष थापाले आफ्नो सम्बोधनमा महिला कल्याण र सशक्तिकरणप्रति भाजपा नेतृत्वधीन केन्द्र सरकारको प्रतिबद्धतालाई पुन: पुष्टि गर्दै राज्य विधानसभा र संसदमा महिलाहरूको लागि 33 प्रतिशत आरक्षण जस्ता ऐतिहासिक पहलहरूमाथि प्रकाश पारे। महिलाहरूको वित्तीय सशक्तिकरण विषयमाथि आयोजित अन्तरराष्ट्रिय महिला दिवस कार्यक्रममा उनले विभिन्न क्षेत्रहरूमा महिलाहरूलाई सशक्त बनाउन केन्द्र सरकारका विभिन्न योजनाहरूको बारेमा जानकारी गराए। उनले सिक्किमेली महिलाहरूको विभिन्न क्षेत्रमा अपार योगदानको प्रशंसा गर्दै सिक्किमको प्रगतिलाई आकार दिन महिलाहरूको महत्वपूर्ण भूमिका रहेको बताए।
कार्यक्रममा महिला उद्यमी र सामाजिक कार्यकर्ताहरूलाई आ-आफ्नो क्षेत्रमा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो। गान्तोक लगायत प्रदेश भाजपाको सिङ्तामस्थित मुख्य कार्यालय र सोरेङ जिल्लामा पनि अन्तरराष्ट्रिय महिला दिवस मनाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल