कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राज्यपाल माथुरले जहाँ नारीहरूको पूजा हुन्छ त्यहाँ देवताहरूको वास हुन्छ भन्दै अन्तरराष्ट्रिय महिला दिवसले हामीलाई महिलाहरूको सम्मान गर्ने अवसर प्राप्त हुने बताए। उनले नारी धैर्य, तपस्या, शिक्षा तथा समर्पणको प्रतिमुर्ति रहेको बताए।
राज्यपालले स्वाधीनता आन्दोलनमा महिलाहरूको भुमिकाको उल्लेख गर्दै भारतीय नारीहरूले गरेका अनेकौं उल्लेखनीय उपलब्धिहरूमाथि प्रकाश पारे। उनले देशमा महिलाहरूको भुमिका तीव्र गतिमा अघि बढेको जनाउँदै खेल लगायत विविध क्षेत्रमा नारीहरूले उल्लेखनीय उपलब्धि हासिल गरेर देश तथा राज्यको नाम रोशन गरिरहेको बताए।
सिक्किमका नारीहरूले विविध क्षेत्रमा हासिल गरेका उपलब्धिहरूको पनि उल्लेख गर्दै राज्यपालले नारीहरूको समाज, राज्य तथा देशको निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताए। उनले स्वयं सहायता योजनाहरूमार्फत पनि नारीहरू आर्थिक रूपमा सशक्त बन्दै गइरहेको बताउॅंदै सिक्किमका महिलाहरू सबै क्षेत्रमा आत्मनिर्भर र सबल रहेको बताए। उनले सिक्किममा महिला अपराध दर लगभग शुन्य रहेको पनि उल्लेख गरे।
कार्यक्रममा विभिन्न नारी हस्ताक्षरहरूलाई अभिनन्दन जनाइयो, जसमा पहिलो महिला विधानसभा अध्यक्षा कलावती सुब्बा, पहिलो क्याबिनेट मन्त्री रिञ्जिङ ओङ्मु भोटिया र प्रथम महिला मुख्य सचिव रिन्छेन ओङ्मु रहेका छन्। यसैगरी, समाज कल्याण विभागद्वारा विभिन्न महिलाहरूलाई पनि सम्मान जनाइएको थियो।
कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, समारोह आयोजक समितिकी अध्यक्षा राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, प्रेस सचिव युगेन तामाङ लगायत छवटै जिल्लाबाट आएका नारी प्रतिनिधिहरू र अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल