गोर्खा युथ एक्टिभिस्ट नेटवर्कको आयोजनामा माटो बचाऊ अभियानको शुरुवात
गोर्खा युथ एक्टिभिस्ट नेटवर्कको आयोजनामा माटो बचाऊ अभियानको शुरुवात


- यो माटोको लागि बौद्धिक जमातलाई लिएर गरिएको आन्दोलन हो: बीरेन्द्र रसाईली सोनादा, 08 मार्च (हि.स.)। गोर्खा युथ एक्टिभिस्ट नेटवर्कको आयोजनामा शनिवारदेखि मार्गेट्सहोप चियाकमानबाट माटो बचाऊ अभियान शुरु गरिएको छ। यस क्रममा ज्ञानको टिमले मार्गरेट्स होप चियाबारीको शहिद वेदीबाट माटो बचाऊ अभियानको शंखघोष गरेको छ।

स्थानीय शहीद वेदी स्थलमा 1955 सालमा‌ शहीद भएकाहरुलाई श्रद्धाञ्जली अर्पण कार्यक्रम पनि आयोजना गरिएको थियो। पछि, शहीद वेदीबाट पैदल यात्रा गर्दै सदस्यहरू केही तल दोकान डाँडासम्म पुगे, जहॉं एक पथ सभा आयोजना गरियो।

उक्त पथ सभालाई गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका किशोर प्रधान, दार्जिलिङ तराई डुवर्स चियाबारी सुरक्षा समितिकी बन्दना राई, कृषक कल्याण संगठनको तर्फबाट विष्णु छेत्री, सिद्धान्त गोर्खा राई, सञ्जय थुलुङ, भारतीय गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट शारदा राई सुब्बा, ज्ञानका संयोजक अधिवक्ता बीरेन्द्र रसाईली लगायत अन्यहरुले सम्बोधन गरेका थिए। यस पथ सभालाई मनोज बोगटीले सञ्चालन गरेका थिए।

ज्ञानले‌ 5 डेसिमल जमीनको पर्जापट्टा र 30 प्रतिशत चियाबारीको जमीन बिजिनेसको लागि प्रदान गर्ने सरकारको अधिसूचनाको विरोधमा यो माटो‌‌ बचाऊ अभियान शुरु गरेको बताइएको छ। ज्ञानले उच्च माध्यमिक परीक्षापछि पत्रकार सम्मेलनको माध्यमद्वारा आफ्नो भावी रणनीति र कार्यक्रमहरूको बारेमा जानकारी गराउने बताएको छ।‌

यस अभियानमा गोर्खा सेवा सेनाबाट बिक्रमादि राई, नरेन्द्र काङ्बाङ, बबिता मादेन, उमेश परियार, आरके शर्मा, सुमित देवान, भारतीय गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट राप्गे राई‌ लगायत अन्यहरु उपस्थित रहेका थिए।‌

माटो बचाऊ अभियानको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा युथ एक्टिभिस्ट नेटवर्कका संयोजक अधिवक्ता बीरेन्द्र रसाइलीले भने, 'हाम्रो आन्दोलन बौद्धिक आन्दोलन हो, हिंसा र रक्तपातको आन्दोलन होइन। यो आन्दोलन बौद्धिक व्यक्तिहरु र श्रमिकहरुलाई लिएर गरिएको हो, तर हामी ट्रेड युनियन होइनौं। हामी ठाउँ ठाउँमा गएर सभा गर्नेछौं। अहिले उच्च माध्यमिक परीक्षा चलिरहेको छ र उच्च माध्यमिक परीक्षापछि हाम्रो आन्दोलनको रुपरेखा तयार पार्नेछौं।'

ज्ञानको संयोजक अधिवक्ता बीरेन्द्र रसाईलीले ज्ञानको मुख्य मुद्दा भनेको अहिलेलाई 5 डेसिमल जमीनको मुद्दा र 30 प्रतिशत चियाबारीको जमीन बिजिनेसको लागि दिने घोषणाको विरोधमा आन्दोलन गर्नु रहेको बताए। उनले यो माटो बचाऊ अभियान सरकारले हामीप्रति गरेको अतिक्रमणको विरोध रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande