खरसाङ, 08 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्ति तीनधारे महानदी समष्टिको आयोजनामा आज समष्टिस्तरीय अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम महानदीको घुम्ती चियाबारी अन्तर्गत आदर्श श्रमिक कल्याण भवनमा आयोजना गरियो। उक्त कार्यक्रमको अध्यक्षता नारी शक्ति तीनधारे महानदी समष्टिकी सभापति निरा प्रधानले गरेकी थिइन्। यस अवसरमा समष्टिकी सभासद नवराज छेत्री मुख्य अतिथि थिए।
घैयाबारी ग्राम पञ्चायत तीनकी पञ्चायत प्रधान भगवती प्रधानले सञ्चालन गरेको कार्यक्रममा भागोप्रमो तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्मले स्वागत सम्बोधन राखेका थिए। उनले नारीहरुले पनि अहिले देशमा धेरै प्रगति गरिसकेको र यता जीटीए क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाको नेतृत्वमा नारीहरुले विभिन्न पदहरुमा रहेर कार्य गरिरहेको बताए।
मुख्य अतिथि सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा अन्तरराष्ट्रिय नारी दिवसको तीनधारे महानदी समष्टिको 22 वटै बुथका नारीहरुलाई शुभकामना व्यक्त गरे। उनले नारीहरुका कार्यको प्रशंसा गर्दै सबैलाई सदैव अघि बढ्ने आह्वान गरे।
कार्यक्रममा तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुका वरिष्ठ नारीहरुलाई आयोजक समितिको तर्फबाट सम्मान जनाइयो। कार्यक्रममा नानीहरु र नारीहरुले नृत्य, गीत, कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा आफ्नो प्रस्तुति दिनेहरुलाई आयोजक समितिको तर्फबाट सम्मान गरिएको थियो।
कार्यक्रममा भागोप्रमो महानदी बुथ कमिटीका सभापति टंकप्रसाद शर्माको निधनमा शोक प्रकट गर्दै मौन धारण गरिएको थियो।
हिन्दुस्थान समाचार / हनोक