सिक्किम शिक्षाको केन्द्रको रूपमा विकसित बन्दै गइरहेको छ: मुख्यमन्त्री
सिक्किम शिक्षाको केन्द्रको रूपमा विकसित बन्दै गइरहेको छ: मुख्यमन्त्री


गान्तोक, 9 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज राजधानीको चिन्तन भवनमा आयोजित कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी बने। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर विश्वविद्यालयको कुलाधिपतिको रूपमा उपस्थित थिए।

मुख्यमन्त्री तामाङले दीक्षान्त समारोह भनेको केवल डिग्री प्राप्त गर्नु मात्र होइन, यो अवसर, चुनौती र आकांक्षाले भरिएको नयाँ यात्राको शुरुवातको प्रतीक पनि रहेको बताएका छन्। कञ्चनजङ्घा राज्य विश्वविद्यालयले 2018 मा स्थापना भएदेखि उल्लेखनीय प्रगति गरेको बताउॅंदै विश्वविद्यालयले आफ्नो शैक्षिक कार्यक्रमहरू विस्तार गर्दै र सिक्किमको बौद्धिक विकासमा योगदान पुर्‍याएको बताए।

मुख्यमन्त्रीले उच्च शिक्षालाई अझ बढाउन राज्य सरकारले तिमी-तार्कुमा विश्वस्तरीय स्थायी क्याम्पस निर्माण गरिरहेको जानकारी सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।

उनले पहिलो चरणको निर्माण पूरा हुन लागेको छ र विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा आएपछि यसले विद्यार्थीहरूको लागि अत्याधुनिक वातावरण प्रदान गर्ने बताएका छन्। विश्वविद्यालयका पहलहरूको प्रशंसा गर्दै उनले सिक्किम शिक्षाको केन्द्रको रूपमा विकसित बन्दै गइरहेको बताएका छन्। उनले राज्य सरकार विश्वभरका विद्यार्थीहरूलाई आकर्षित गर्दै स्थानीय प्रतिभालाई विश्वव्यापीकरण गर्न समर्पित रहेको उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले शिक्षाको क्षेत्रमा सरकारले गरेका उल्लेखनीय कार्यहरूको बारेमा जानकारी गराउॅंदै सफलता निरन्तर शिक्षा आर्जन, लचिलोपन र अनुकूलन क्षमताको माध्यमद्वारा प्राप्त गर्न सकिने बताए। उनले विद्यार्थीहरूलाई जिज्ञासु बन्न, चुनौतीहरूलाई अँगाल्न र उत्कृष्टताको लागि प्रयास गर्न सुझाउ दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande