वरिष्ठ साहित्यकार मदन ओझाको अभिनन्दन ग्रन्थ 'सिर्जनाको पखेरोमा मदन ओझा' पुस्तकको लोकार्पण
वरिष्ठ साहित्यकार मदन ओझाको अभिनन्दन ग्रन्थ 'सिर्जनाको पखेरोमा मदन ओझा' पुस्तकको लोकार्पण


खरसाङ, 9 मार्च (हि.स.)। वरिष्ठ साहित्यकार, कवि एवं गीतकार मदन ओझाको अभिनन्दन ग्रन्थ 'सिर्जनाको पखेरोमा मदन ओझा' पुस्तकको लोकार्पण सिलगढीको देवकोटा संघमा एक साहित्यिक कार्यक्रमबीच गरिएको छ। वरिष्ठ साहित्यकार लोक थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार डा. जीवन नामदुङ मुख्य अतिथि थिए।

केबी नेपाली र डा. सुकराज दियालीद्वारा सम्पादित उक्त पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकमाथि प्रदीप रसाइलीले समीक्षात्मक टिप्पणी राखेका थिए। यसैगरी, वरिष्ठ साहित्यकार मदन ओझाको परिचयात्मक वक्तव्य वरिष्ठ साहित्यकार नन्द हाङ्खिमले राखेका थिए। कार्यक्रममा अभिनन्दन ग्रन्थमाथि सम्पादकीय टिप्पणी पुस्तकका सम्पादक केबी नेपालीले‌ राखेका थिए।

यसै कार्यक्रममा वरिष्ठ साहित्यकार मदन ओझाद्वारा लिखित विविध रचनाहरुको संगालो 'बिर्सन नसकिने पलहरु' नामक पुस्तकको पनि लोकार्पण गरियो। उक्त पुस्तकमाथि समीक्षात्मक टिप्पणी डा. कृष्णराज घतानीले राखेका थिए‌। कार्यक्रममा वरिष्ठ साहित्यकार केबी नेपाली, डा. सुकराज दियाली र प्रदीप रसाईलीलाई राङभाङ साहित्य सम्मानले सम्मानित गरियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधन राख्दै वरिष्ठ साहित्यकार डा. जीवन नामदुङले साहित्यकार मदन ओझा जिउँदै अमर बनेका छन् भनी बताए। उनले मानिसको जीवन क्षणिक हो, तर साहित्यले‌ मानिसको जीवनलाई अमरत्व प्रदान गर्छ भने। डा. नामदुङले भने, 'मदन ओझाले एकनिष्ठ भएर लेखिरहे। 60-70 वर्षको लामो समयसम्म लेखिरहेका छन्। उनले आयमिकभन्दा अघिदेखि लेख्दै आएका हुन्। हामीले मदन ओझालाई खोज्नु नागरी जानु पर्दैन।‌ सिलगढी जानु पर्दैन, तर यही अभिनन्दन ग्रन्थमा सबै कुरा छ।'

कार्यक्रममा सभाध्यक्षको‌ आसनबाट बोल्दै वरिष्ठ साहित्यकार लोक थापाले मदन ओझाका कविताहरु गीतको लयमा आबद्ध रहेको र उनको कविताहरू संगीतात्मक रहेको बताए। उनले भने, 'मदन ओझा अभिनन्दन ग्रन्थ 'सिर्जनाको पखेरोमा मदन ओझा' पुस्तकमाथि पाठक प्रतिक्रिया आवश्यक छ।' उनले कवि मदन ओझा र उनको परिवारप्रति आभार प्रकट गरे। यस कार्यक्रममा‌ विभिन्न स्थानहरुबाट‌ साहित्यकारहरु उपस्थित रहेका थिए।‌

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande