एसकेएम विद्यार्थी प्रकोष्ठको विद्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम
एसकेएम विद्यार्थी प्रकोष्ठको विद्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम


गान्तोक, 9 मार्च (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा एसकेएम विद्यार्थी प्रकोष्ठको तत्वावधानमा आज राजधानीमा विद्यार्थी प्रतिनिधि परिषदका सम्पूर्ण सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम आयोजना गरियो। कार्यक्रममा राज्य ग्राम प्रबन्धन एवं विकास विभागका मन्त्री अरूण कुमार उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।

यसैगरी, समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चा, सोरेङ च्याखुङका विधायक तथा एसेकएम विद्यार्थी प्रकोष्ठका उपाध्याक्ष प्रभारी आदित्य गोले, एसकेएम युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान, मुख्यमन्त्रीका पीआरओ रत्नमणि प्रधान, विद्यार्थी प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चा, महासचिव रिवाज छेत्री, संगठन सचिव सञ्जय दिलपाली राई लगायत विभिन्न महाविद्यालय र श्रेडाका विद्यार्थी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री उप्रेतीले विद्यार्थीहरूको पहिलो कार्य अध्ययन गर्नु रहेको बताउँदै अध्ययनलाई उच्च प्राथमिकता दिन आह्वान गरे। उनले कुनै पनि समस्याको समाधान हुन्छै हुन्छ भन्दै विद्यार्थी प्रतिनिधिहरूले राखेका समस्या र गुनासोहरूको निवारण हेतु सरकारले अवश्यै पहल गर्ने आश्वासन दिए।

उनले ठूलो ह्रदय भएका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा शिक्षाको विकास हेतु सरकारले हरसम्भव कार्य गरिरहेको बताए। उनले सदैव सकारात्मक सोंचका साथ संगठित भएर सिक्किमे भावनालाई आत्मसात गर्दै अघि बढ्न विद्यार्थीहरूलाई आह्वान गरे।

आफ्नो सम्बोधन राख्दै विशिष्ट अतिथि मन्त्री साम्डुप लेप्चाले मुख्यमन्त्रीको गतिशील नेतृत्वमा एसकेएम सरकारले शिक्षालाई विशेष प्राथमिकता दिएर विद्यार्थीमुखी अनेकौं योजनाहरू तयार पारेको र ती योजनाहरूबाट धेरै गरीब परिवारका विद्यार्थीहरू लाभान्वित बनेको बताए। यसका साथै शिक्षाको क्षेत्रमा धेरै पूर्वाधारहरू निर्माण भएको पनि उनले बताए।

आफ्नो सम्बोधन राख्ने क्रममा विधायक आदित्य गोलेले कार्यक्रमको सराहना गर्दै आफ्नो शैक्षिक संस्थानको समस्याहरू यसरी खुल्ला रूपले प्रस्तुत गरिदिएकोमा सम्पूर्ण विद्यार्थी प्रतिनिधिहरूको प्रशंसा गरे। उनले विद्यार्थी प्रतिनिधिहरूका समस्याहरू मुख्यमन्त्री समक्ष राख्ने र समाधान गर्ने दिशामा अवश्यै पहल गरिने आश्वासन दिए।

मुख्यमन्त्रीका पीआरओ रत्नमणि प्रधानले आफ्नो सम्बोधनमा एसकेएम सरकार गठनपछि मुख्यमन्त्री सहायता योजना मार्फत गरीब वर्गका विद्यार्थीहरूलाई सरकारले निरन्तर सहयोग प्रदान गर्दै आएको बताए। उनले सरकारका यी योजनाहरूबाट आज धेरै विद्यार्थीहरू लाभान्वित बनेको बताए।

कार्यक्रममा खुल्ला छलफल सत्र पनि राखिएको थियो, जसमा विभिन्न महाविद्यालयका विद्यार्थी प्रतिनिधीहरूले आआफ्नो कुरा राखेका थिए। छलफलको क्रममा विद्यार्थी प्रतिनिधिहरूले आआफ्नो महाविद्यालयका समस्याहरू खुलेर राखेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande