नदिया, 11 जून (हि. स.)। जिल्लाको तेहटमा गए मंगलवार राती तृणमूल कंग्रेसका दुई गुटमाझ भएको हिंसक झड़पमा पार्टीका आठजना कार्यकर्ताहरू गम्भीर रूपमा घाइते भए। यो झड़प दिवंगत विधायक तापस साहाको स्मरणसभा अवधि भएको हो।
सो सभा तेहट विधानसभा क्षेत्रको पाथरघाटा-1 पञ्चायतस्थित साहाबुद्दीन मण्डल स्मृति हाई स्कूलमा आयोजना गरिएको थियो। सभामा दिवंगत विधायकका परिवार लगायत स्थानीय नेता, कार्यकर्ता अनि समर्थकहरूको उपस्थिति रहेको थियो। सभाको शुरूबाटै वातावरण तनाउपूर्ण भएको थियो जुन सभा समाप्तिपूर्व नै हिंसामा परिणत भयो।
पार्टी सूत्र अनुसार सभाको अन्तिम चरणमा एकजना स्थानीय नेताले वक्तव्य राखेपछि माहोल बिग्रियो। हेर्दा-हेर्दै दुई गुटमाझ भएको बहस कुटपिटमा परिणत भयो। घटनास्थलमा बाँस अनि ईँटाले एका-अर्कामाथि प्रहार गर्नथाले जसमा धेरैजना मानिसहरू घाइते भए। गम्भीर रूपमा घाइते आठजना मानिसहरूलाई पहिला तेहट महकुमा अस्पताल लगियो जहाँबाट उनीहरूलाई कृष्णनगरस्थित शक्तिनगर जिल्ला अस्पतालमा स्थानान्तरण गरियो।
घाइते कार्यकर्ता सालात शेखले आरोप लगाए, पार्टीभित्र गुटबाजी हुनुको मुख्य कारण नेतृत्वसित सम्बन्धित रहेको छ। उनले अझ बताए, पञ्चायत चुनाउमा विपक्षी दलहरूलाई साथ दिने मानिसहरूलाई अब तृणमूल कंग्रेसमा सामेल गरिँदैछ। एउटै क्षेत्रमा दुईजना मानिसहरूलाई क्षेत्रीय अध्यक्ष बनाइएको छ। यही नै विवादको जड़ हो।
यस मामिलामाथि प्रतिक्रिया व्यक्त गर्दै तृणमूलको तेहट-1 ब्लक अध्यक्ष सुकुमार मण्डलले भने, सभाको अन्तमा केही मानिसहरू एका-अर्कामाथि जाइ लागे। यसो गरेर उनीहरूले उचित गरेनन्। अब हामीले पत्तो लगाउनुपर्छ कि यसको पछाड़ि को-को छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा