पद्मश्री पुरस्कार प्रापक नरेन गुरूङ र साहित्य अकादेमी पुरस्कार प्रापक युवा बराल अभिनन्दित
पद्मश्री पुरस्कार प्रापक नरेन गुरूङ र साहित्य अकादेमी पुरस्कार प्रापक युवा बराल अभिनन्दित


गान्तोक, 11 जून (हि.स.)। पद्मश्री पुरस्कार (2024) प्रापक लोक गीत-सङ्गीत साधक नरेन गुरूङ तथा साहित्य अकादेमी पुरस्कार (2024) प्रापक साहित्यकार युवा बराल ‘अनन्त’ लाई आज (बुधवार) नेपाली साहित्य परिषदद्वारा अभिनन्दन गरियो। परिषदले सो पुरस्कार ग्रहण गरे पश्चात परिषदको प्रेक्षागृहमा यसरी अभिनन्दन गर्ने निर्णय गरेको जानकारी परिषदका प्रचार सचिव जोसेफ लेप्चाले विज्ञप्तिमा दिएका छन्।

परिषदका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न अभिनन्दन समारोहमा उनले राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेपछि परिषदको पहलमा यसरी अभिनन्दन गरिने परम्परालाई कायम गरिएको बताए। उनले पुरस्कृत व्यक्तित्वहरूले आफ्नो स्तरबाट दिएका योगदानलाई उचित मूल्याङ्कन भएको बताएका छन्। उनले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा यसरी दुईजनालाई राष्ट्रिय स्तरको नागरिक सम्मानद्वारा सम्मान गरिनु पनि गौरवमय बताएका छन्।

यस अवसरमा नरेन गुरूङले सम्बोधनको क्रममा आफू अभिनन्दिन हुन पाउँनु अति सौभाग्य बताउँदै लोक सङ्गीत तथा लोक नाचको संरक्षण एवं सम्बर्द्धनमा अझ धेरै कार्य हुन आवश्यक बताए। उनले सिक्किमको ग्रामीण भेगमा यस्तो मौलिक सङ्गीत तथा नाचहरू अस्तित्वमा रहेको पनि बताएका छन्।

साहित्यकार युवा बराल ‘अनन्त’ ले छिचिमिरा कथा संग्रहका लागि साहित्य अकादेमी पुरस्कार प्राप्त भएको बताउँदै 2018 मा सो कृति प्रकाशित भएको जानकारी गराए। उनले पुरस्कार तथा सम्मानले साहित्य सिर्जनामा अझ धेरै ऊर्जा प्राप्त भएको बताए। सो कार्यक्रममा अभिनन्दित व्यक्तित्वद्वयलाई अङ्गवस्त्र, अभिनन्दन पत्र तथा स्मृति चिन्ह अर्पण गरियो।

कार्यक्रममा अभिनन्दित व्यक्तित्वहरूको परिचयात्मक वार्ता उषा शर्माले प्रस्तुत गरिन्। कार्यक्रममा कृतिका शर्मा तथा पेम नर्बु शेर्पा ‘ज्योति’ ले कविता वाचन गरेका थिए। कार्यक्रममा उपेन्द्र न्यौपाने, दर्शना बराल, गणेश ढुङ्गेल तथा जीवन शर्माले गीत प्रस्तुत गरे। कार्यक्रमको सञ्चालन परिषदका महासचिव नीलम न्यौपानेले गरेका थिए।

कार्यक्रममा स्वागत प्रस्ताव परिषदका उपाध्यक्ष भक्ति शर्मा तथा धन्यवाद ज्ञापन प्रस्ताव जीएस सुब्बाले राखे। कार्यक्रममा डुप छिरिङ लेप्चा, एसआर सुब्बा, रूद्रा पौड्याल, सीपी भट्टराई, पेम्पा तामाङ, प्रद्युम्न श्रेष्ठ, बीएम रामुदामु, डीबी ठटाल, डा. पुष्प शर्मा, केएन शर्मा, नवीन लामिछाने आदि गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande