दार्जिलिङ, 11 जून (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले यस वर्षदेखि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष स्वर्गीय सुवास घिसिङले जाति अनि माटोप्रति दिएको योगदानको कदर गर्दै सुवास घिसिङ स्मृति पुरस्कार प्रदान गर्ने निधो गरेको छ। यो पुरस्कार विशेष रूपले संस्कृति, सामाजिक, राजनीति र शिक्षाको क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तिहरूलाई प्रदान गरिने छ।
यस वर्ष सुवास घिसिङ स्मृति पुरस्कार सामाजिक, शैक्षिक अनि राजनीतिक क्षेत्रमा योगदान पुर्याउने र सिन्कोना वृक्षारोपणको कल्याणमा विशेष योगदान पुर्याउने कालेबुङ 12 माइल निवासी पूर्व विधायिका रेणुलिना सुब्बा, जसलाई कालेबुङको आइरन लेडी भनेर पनि चिनिने गरिन्छ, लाई प्रदान गरिने भएको छ। गोर्खा नेता सुवास घिसिङको पुण्यतिथिको उपलक्ष्यमा आगामी 22 जून, 2025 मा दार्जिलिङको गोर्खा रंगमञ्च भवनमा आयोजना गरिने पुरस्कार समारोहमा पुरस्कार प्रदान गरिने आज जीटीए डेपुटी चेयरमेन राजेश चौहानले जानकारी दिएका छन्।
डेपुटी चेयरम्यान राजेश चौहानले पुरस्कार घाेषणा गर्दै भने, रेणुलिना सुब्बालाई प्रथम स्वर्गीय सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार प्रदान गरिने जीटीएले निणर्य लिएको छ। यो सम्मान दार्जिलिङ पहाडको गरिमा अनि पहाडको गौरवलाई शिखरतर्फ लैजान योगदान दिने व्यक्तित्वहरूलाई हरेक वर्ष प्रदान गरिने छ।
गत वर्ष 2024 को भानु जयन्ती समारोहबाट जीटीएको मुख्य कार्यपाल अनित थापाले आगमी वर्षदेखि (2025) सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा उनकै जन्म जयन्तीमा प्रदान गरिने घाेषणा गरेका थिए।
स्वर्गीय घिसिङको जन्म 22 जून, 1936 मा मिरिकको मञ्जु चिया बगानमा भएको थियो। उनको निधन 28 जनवरी, 2015 मा दिल्लीको एक अस्पतालमा भयो। स्वर्गीय सुवास घिसिङको जन्म जयन्ती 22 जूनका दिन आयोजना गरिने समारोहमा पुरस्कार प्रदान गरिने राजेस चौहानले बताए।
रेणुलिना सुब्बा कालेबुङकी एक प्रमुख राजनीतिज्ञ हुन्। उनी कालेबुङ विधानसभाबाट पहिलो गोर्खा महिला विधायिका थिइन्। उनले अखिल भारतीय गोर्खा लिग तथा स्वतन्त्र उम्मेदवारको रूपमा चुनाउ लडेर निर्वाचित भएकी थिइन्। सन् 1977 (गोर्खा लिग) र 1982 (स्वतन्त्र ) मा विधायिका निर्वाचित भएकी सुब्बाले क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेकी छन्।
जसमा विद्यालयहरूको मान्यता, कलेजहरूको स्थापना र प्राथमिक स्वास्थ्य केन्द्रहरूको निर्माण जस्ता कार्यहरू पर्दछन्।
रेणुलिना सुब्बा नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा समावेश गराउने अभियानमा पनि अग्रणी थिइन्। उनी एक सक्षम वक्ता, महिलाहरूको सशक्तिकरण र गोर्खा समुदायको हक अधिकारका लागि दृढ आवाजको रूपमा चिनिन्छन्। सिन्कोना मजदुर आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको कारण उनी “सिन्कोनाकी आइरन लेडी” भनेर पनि चिनिन्छन्।
हिन्दुस्थान समाचार / हनोक