गान्तोक, 11 जून (हि.स.)। जुम सालघारी निर्वाचन क्षेत्रले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको वार्ड स्तरीय समिति गठन कार्यक्रम निरन्तर गरिरहेको छ। आज कार्यक्रमको तेस्रो दिन पिपले वार्ड, भस्मे वार्ड र सुविटार वार्डमा समिति गठन गरियो।
क्षेत्र विधायक तथा सल्लाहकार मदन सिञ्चुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक सञ्जाल शाखाका राज्य स्तरीय अध्यक्ष नविन दाहाल, सामसिङ पिपले वार्डका पञ्चायत अध्यक्ष धन कुमारी खाती, पञ्चायत उपाध्यक्ष पार्वती राई, पार्टी कार्यकर्ता लगायत स्थानीय वार्डका जनताको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीद्वारा चयन गरिएको तीनवटै वार्डका नव मनोनीत समितिका पदाधिकारीहरूलाई क्षेत्र विधायकले खदा लगाएर स्वागत जनाउँदै बधाई दिए।
तीनवटै वार्डमा पुगेर मनोनीत भएका सदस्यहरुलाई सम्बोधन गर्दै विधायक मदन सिञ्चुरीले पार्टीको निम्ति वार्ड लेबल कमिटी मुलस्तम्भ हुन्, यसैले पार्टी कार्यकर्ताहरूले आ आफ्नो वार्डमा इमान्दारीपूर्वक जनतासँग जोडिएर काम गर्न पार्टीले युवा नारीहरुलाई दायित्व सुम्पिएको बताए। उनले कमिटीलाई नि:स्वार्थ रुपमा काम गर्दै सरकारले गरेका कार्य र योजनाहरू जन जनमा पुऱ्याउन आह्वान गरे।
उनले मुख्यमन्त्रीको परिकल्पना सुनौलो सिक्किम, समृद्ध सिक्किम र समर्थ सिक्किमलाई सफल बनाउन धरातल बलियो बनाउनु पर्छ भन्दै यसको दायित्व समितिले निर्वाह गर्नुपर्छ भने। उनले पार्टीलाई सशक्त बनाउन सबै कार्यकर्ताले हातेमालो गर्नुपर्ने कुरामाथि जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल