सोनादाका पाल्जर छेवाङ शेर्पा सीआईएसएफमा सहायक कमान्डेन्ट पदमा नियुक्त
पाल्जर छेवाङ शेर्पा


सोनादा, 14 जून (हि.स.)। हुने बिरुवाको चिल्लो पात भने झैँ असल विद्यार्थी वा महत्वकांक्षी युवालाई बाटोमा दोहोऱ्याइ रहनु पर्दैन। उनीहरू आफै आफ्नो बाटो पैलाएर अघि बढ्छन्।

सानै उमेरदेखि असल बानी, व्यवहार र मिठो बोली वचन भएका युवा पाल्जर छेवाङ शेर्पाले पहिलो प्रयासमै युपीएससी सीएपीएफ एसी परीक्षा उत्तीर्ण गरे। उनले सर्व भारतीय स्तरमा 110 ऱ्याङ्कमा परीक्षा उत्तीर्ण गर्दै सीआईएसएफमा सहायक कमान्डेन्ट (ग्रुप ए राजपत्रित अधिकारी) को पदमा नियुक्ति पाएका छन्।

सोनादा प्रशान्ति ग्राम निवासी मातापिता रिञ्जी शेर्पा र रिक्को शेर्पाका छोरा पाल्जर छेवाङ शेर्पा सानैदेखि मेधावी छात्र थिए। सोनादा होलिक्रस प्राथमिक पाठशालाबाट आफ्नो शिक्षा शुरु गरेका पाल्जरले 92 प्रतिशत अङ्क ल्याएर खरसाङ गोथल्स मेमोरियल स्कूलबाट आईएससी उत्तीर्ण गरे। यसरी नै उनले 91 प्रतिशत अङ्क ल्याएर दार्जिलिङ सन्त जोसेफ (नर्थ पोइन्ट) बाट स्नातक पूरा गरे। उनले श्रीराम कलेज अफ् कमर्स युनिभर्सिटी दिल्लीबाट गोल्ड मेडल प्राप्त गरेका थिए।

छोराको सफलतामा परिवार पक्षले खुशी प्रकट गर्दै छोराको उपलब्धि सम्पूर्ण सोनादा क्षेत्रको रहेको बताएका छन्। पाल्जर सानैदेखि परिश्रमी र महत्वकांक्षी थिए र नै उनलाई आज यस स्थानसम्म आउन मद्दत पुगेको उनीहरूको भनाई छ। पाल्जरको यस सफलतामा परिवार लगायत सम्पूर्ण सोनादावासीले बधाई दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande