दक्षिण २४ परगना, 30 जून (हि.स.)। जिल्लाको पाथरप्रतिमा क्षेत्रमा करेन्टको चपेटमा परी एक जना वृद्धको मृत्यु भयो भने वृद्धका भाइ गम्भीर रूपमा घाइते भएका छन्। मृतकको नाम गोबर्धन माइती (68) हो। घाइते नारायण माइती (58)-लाई अस्पतालमा भर्ती गरिएको छ जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ।
यस्तो हृदयविदारक घटना गोपालनगरको महेन्द्रनगर गाउँमा भएको हो। सोमवार बिहान घरमा बिजुलीको लाइन बिग्रिएको थियो। गोबर्धन माइतीले आफै बिजुली बनाउने चेष्टा गरिरहेका थिए यसै अवधि अचानक उनलाई करेन्ट लाग्यो। पीड़ादायी दृश्य देखेर भाइ नारायण माइती दाज्युलाई बचाउन गए। दाज्युलाई छुनसाथ तिनी पनि करेन्टको चपेटमा परे। दाज्यु-भाइ चिच्याएको सुनेर परिवारका अन्य सदस्यहरू साथै छर-छिमेकका मानिसहरू घटनास्थलमा पुगे। उनीहरूले दुवैलाई विद्युतको सम्पर्कबाट निकालेर अस्पतालमा पुऱ्याए।
अस्पतालमा पुगेपछि डाक्टरहरूले गोबर्धन माइतीलाई मृत घोषित गरिदिए भने नारायण माइतीको उपचार भइरहेको छ। डाक्टरहरू अनुसार उनको अवस्था गम्भीर छ।
पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। साथै घटनाको जाँच शुरू गरेको छ। प्रारम्भिक जाँचमा आशंका व्यक्त गरिँदैछ, वर्षाको कारण बिजुलीको तारमा पानी पसेर शर्ट सर्किट भयो अनि यो दुर्घटना भएको हुनसक्छ। प्रशासनले बर्खाको मौसममा बिजुलीसित सम्बन्धित उपकरण तथा तारहरूसित विशेष सतर्कता अप्नाउने अपील मानिसहरूसित गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा