गान्तोक, 30 जून (हि.स.)। राज्य सहकारी विभाग मन्त्री अरुण उप्रेतीले आज नयॉं दिल्लीको भारत मण्डपममा आयोजित सहकारी मन्त्रीहरूको मन्थन बैठकमा भाग लिए। देशका सबै राज्य र केन्द्रशासित प्रदेशका सहकारिता मन्त्रीहरूको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता केन्द्रिय गृह एवं सहकारी मन्त्री अमित शाहले गरेका थिए।
सिक्किम राज्य टोलीमा मन्त्री उप्रेतीको साथमा सहकारी विभागकी सचिव ग्लोरिया नाम्चु, संयुक्त रेजिस्ट्रार इन्द्रमणि अधिकारी र सहायक रेजिस्ट्रार छेवाङ नर्बु भोटिया पनि सामेल थिए। उक्त कार्यक्रम प्रगतिको समीक्षा गर्ने, विचार आदानप्रदान गर्ने र सहकारी क्षेत्रको सुदृढीकरणको सामूहिक लक्ष्यहरू प्राप्त गर्न अगाडि बढ्ने बाटो तय गर्ने मञ्च रहेको बताइएको छ।
कार्यक्रममा मन्त्री उप्रेतीले सहकारी मन्त्रालयको पहलहरूमा सिक्किमको सहभागिताको बारेमा अवगत गराउॅंदै सहकारी क्षेत्रमा राज्यले हासिल गरेका उपलब्धिहरूमाथि प्रकाश पारे। उनले देशमा सहकारी क्षेत्रको सुदृढीकरणको नेतृत्वको लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृह तथा सहकारी मन्त्री अमित शाहको प्रयासको प्रशंसा गरे।
उनले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा घोषित उत्कृष्ट सहकारी संस्थाहरूको पुरस्कारको उल्लेख गर्दै उक्त पुरस्कार स्वतन्त्रता दिवसमा प्रदान गरिने बताए। मन्त्री उप्रेतीले अन्तरराष्ट्रिय सहकारी वर्ष 2025 मनाउनका लागि 200 भन्दा धेरै गतिविधिहरूको बारेमा अवगत गराए। सिक्किमले सहकारी क्षेत्रमा विकसित भारत 2047 को दृष्टिकोणसँग मिल्दोजुल्दो प्रयास गरिरहेको पनि उनले जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल