दक्षिण बंगालमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर भाजपाद्वारा खरसाङमा पोस्टरिङ
दक्षिण बंगालमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर भाजपाद्वारा खरसाङमा पोस्टरिङ


खरसाङ, 30 जून (हि.स.)। दक्षिण बंगालको एउटा ल‌ कलेजमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर पीडितले न्याय पाउनु पर्ने तथा बंगालमा राष्ट्रपति शासन लागू गर्नुपर्ने माग गर्दै भारतीय जनता पार्टी (भाजपा) ले खरसाङमा पोस्टरिङ गरेको छ। भाजपाले खरसाङ बजारको विभिन्न स्थानहरु हाट बजार, पार्क लोकेशन, मोटर स्ट्याण्ड लगायत अन्य स्थानहरूमा पोस्टरिङ गरेको छ।

पोस्टरिङ गर्नेहरूमा भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ विधानसभा समष्टिका संयोजक आरबी लामा, भाजपा युवा शक्तिको जिल्ला सचिव बिनय प्रसाद, दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, पञ्चायत समिति सदस्या एवं खरसाङ गिद्ध पहाड मण्डलका सभापति दिक्षा तामाङ, खरसाङ चिमनी देवराली मण्डलका सभापति सञ्जय थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।

पोस्टरिङ विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले दक्षिण बंगालको ल‌ कलेजमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर बंगालभरि विरोध भइरहेको बताए। उनले पहाडमा पनि विरोध भइरहेको र यस घटनाको विरोधमा र पीडिताले न्याय पाउनु पर्ने मागमा आज पोस्टरिङ गरेको बताए।

उनले यस्तो दुष्कर्मको घटना बंगालमा नयाँ होइन भनी बताउँदै बंगालमा तृणमूलको लागि कानुन केही पनि होइन भनी बताए। उनले बंगाल सरकार राज्यमा शासन चलाउन पूर्ण रुपमा असफल भएको दाबी गरे। लामाले बंगालमा झट्टै राष्ट्रपति शासन लागू गर्नुपर्ने माग ​पनि गरे।

भाजपा युवा मोर्चा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले पश्चिम बंगालमा कानुन व्यवस्था कायम राख्नलाई राज्य सरकार पूर्ण रुपमा असफल भएको छ र अब तृणमूल कांग्रेस सरकारमा‌ बस्ने कुनै अधिकार छैन भनी बताए। उनले राज्यमा चेलीबेटी असुरक्षित रहेको बताउॅंदै बंगालमा राष्ट्रपति शासन लागू गर्न राज्यपाल र केन्द्र सरकार समक्ष माग गरे।

पञ्चायत समिति सदस्या दिक्षा तामाङले पनि राज्यमा एकजना महिला मुख्यमन्त्री भएर पनि महिलाहरु सुरक्षित नरहेको बताइन्। उनले कानुन व्यवस्था कायम राख्न राज्य सरकार असफल भएको र बंगालमा झट्टै राष्ट्रपति शासन लागू गरिनु पर्ने माग गरिन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande