सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न, नयॉं विधेयक पेश, संशोधन विधेयक पारित
सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न


गान्तोक, 30 जून (हि.स.)। सिक्किम विधानसभाको आज सम्पन्न एकदिवसीय अधिवेशनमा एउटा नयॉं विश्वविद्यालय सम्बन्धित विधेयक पेश गरियो। यसैगरी, सदनमा एउटा संशोधन विधेयक बिना बहस पारित गरियो।

राज्य शिक्षा विभागका प्रभारी मन्त्री राजु बस्नेतले आज सदनमा 'स्कलर्स युनिभर्सिटी अफ् स्कील्स एण्ड इनोवेशन, सिक्किम बिल, 2025' पेश गरे। उक्त विधेयकमाथि विधानसभाको आगामी अधिवेशनमा बहस एवं मतदान हुनेछ।

उक्त विश्वविद्यालय स्थापना गर्नुको उद्देश्यमाथि बोल्दै मन्त्रीले सिक्किममा विश्वस्तरीय पूर्वाधार र अन्तरराष्ट्रिय नेटवर्किङ मार्फत कुशल र उद्यमशील पाठ्यक्रमहरू सहित उच्च शिक्षा प्रदान गर्नु रहेको बताए। उनले यस विश्वविद्यालयको मुख्यालय नाम्ची जिल्लाको मल्लीमा अवस्थित हुने जानकारी गराए।

यसैगरी, कानून विभागका प्रभारी मन्त्री राजु बस्नेतले सदनमा 'सिक्किम लोकायुक्त (संशोधन) विधेयक, 2025' पेश गरे। उक्त विधेयक सदनमा बिना बहस ध्वनि मतले पारित गरियो। मन्त्रीले सिक्किम लोकायुक्तका अध्यक्ष र सदस्यहरूलाई विचाराधीन मामिलाहरू सम्बोधन गर्न पर्याप्त समय दिनको लागि राज्य सरकारले सिक्किम लोकायुक्त ऐन, 2014 को धारा 5 मा संशोधन गरेर लोकायुक्तका अध्यक्ष र सदस्यहरूको कार्यकाल विस्तार गर्ने प्रावधान समावेश गर्न उक्त संशोधन विधेयक पेश गरेको स्पष्ट पारे।

यस अतिरिक्त, मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले सदनमा वित्तीय वर्ष 2023-24 को लागि पञ्चायती राज संस्थान र नगरपालिकाहरूको लेखा सम्बन्धी वार्षिक समेकित लेखापरीक्षण प्रतिवेदन पेश गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande