तीनधारेमा गोरामुमोको सांगठनिक सभा सम्पन्न
तीनधारेमा गोरामुमोको सांगठनिक सभा सम्पन्न


खरसाङ, 30 जून (हि.स.)। तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे सुकना समष्टिको एक सांगठनिक सभा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षतामा सम्पन्न भयो।

सभामा समष्टि युवा एकाइका सभापति अमीत प्रधानले भने, हामी अनि हाम्रो पार्टी आर्थिक रूपमा कमी छौँ होला, तर हाम्रो मनोबल उच्च छ। हामीसॅंग एउटा उद्देश्य छ, एउटा लक्ष्य छ। एउटा निश्चित मुद्दा छ। यसर्थ पार्टीलाई सुदृढ पार्न कम्मर कस्नुपर्छ।

सभालाई सभाध्यक्ष जेबी गुरूङले सम्बोधन गर्दै भने, आज हाम्रो पहाडको राजनीतिक समीकरणमा नौलो प्रयोग अनि परिवर्तन देखा पर्दैछ। एक सुनौलो घामको किरण यो गोर्खे आकाशमा उदाउने तर्खरमा रहेको छाँटकाँट भान भइरहेको छ। पहाडका सबै पार्टी एकै मुखे अनि एक स्वरमा भट्याउने भएको छ। तर सबै पार्टी आ-आफ्नो वर्चस्व कायम राख्न दौडधुप पनि गरिरहेको छ। हामी पनि यो दौडमा पछि पर्नु हुँदैन। हाम्रो पार्टीलाई सांगठनिक रूपमा सुदृढ पार्न तन-मन धनले लागि पर्नुपर्छ।

सभामा पार्टीका वरिष्ठ सदस्य जीएस लामा, शिला प्रधान, अनिता लामा अनि विभिन्न शाखाका प्रतिनिधिहरू उपस्थित थिए भनी गोरामुमो तीनधारे सुकना समष्टिको प्रचार प्रसार सचिव पूर्ण गुरूङले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande