सोनादा, 4 जून (हि.स.)। सोनादा महिला हस्तशिल्प एवं सिलाई बुनाई केन्द्रले स्थानीय महिलाहरुलाई स्वनिर्भर बनाउन दिशामा महत्वपूर्ण कार्य गरिरहेकाे छ। तर हालमा यहाँ स्थानको अभावले महिलाहरुलाई प्रशिक्षण दिन धेरै असुविधा भइरहेको छ। स्थानीय महिलाहरुलाई स्वनिर्भर बनाउन सक्रिय रहेकाे याे बुनाई केन्द्र आफै भने धेरै असुविधाहरुको सम्मुखिन बनिरहेको छ।
अप्पर पचेङ, सोनादामा 2014 मा पाँचजना क्रियाशील महिलाहरुले सानो रुम भाँडामा लिएर स्थापना गरेको यो केन्द्र 2018-19 मा दार्जिलिङ एमएसएमईको सहयोगमा लघु उद्योगमा परिणत भएको थियो। लघु उद्योगमा परिणत भएपछि भने महिलाहरूले सिलाई बुनाईको लागि मशीनहरु प्राप्त गरे। यस सोनादा महिला हस्तशिल्प एवं सिलाई बुनाई केन्द्रले अहिलेसम्म सोनादा र वरिपरिका महिलाहरुलाई प्रशिक्षण दिएर स्वनिर्भर बनाउन ठूलो सहयोग गर्दै आएकओ छ।
लघु उद्योग भएपछि 18 जना महिलाहरुलाई मिलाएर को-ओपरेटिभ गठन गरेर पञ्जीकरण गरियो। 2020-21 मा यस केन्द्रले 45 जना जति महिलाहरुलाई प्रशिक्षण दिएर स्वनिर्भर बन्न ठूलो सहयोग गरेकाे थियाे। यस केन्द्रमा सोनादा र वरिपरिका महिलाहरुले यहाँबाट प्रशिक्षण लिएर स्वनिर्भर बनेर परिवारलाई आर्थिक रुपमा सहयोग गरिरहेको बताइएको छ। तर अहिले भने यस केन्द्रमा मशीनहरु र बनाएका सामानहरु राख्नलाई साथै महिलाहरुलाई प्रशिक्षण दिन उपयुक्त ठाउँ नभएकोले धेरै असुविधा भईरहेको जानकारी प्राप्त भएको छ।
सानो भाँडाको रुममा सञ्चालन भइरहेको कारणले अहिले यस केन्द्रमा धेरै समस्याहरु देखा परेको छ। यस केन्द्रलाई सम्बन्धित निकायले एवं स्थानीय जनप्रतिनिधिहरुले सहयोग गरिदिएर ठूलो ठाउँ भएको केन्द्र बनाउन सके राम्रो हुने केन्द्रको तर्फबाट अञ्जना प्रधानले बताएकी छन्। उनले यो केन्द्र सानो भएकाले साथै ठाउँ नपुगेर महिलाहरुलाई प्रशिक्षण दिनलाई धेरै असुविधा भईरहेको जानकारी गराएकी छन्। उनले यहाँ मशीनहरु राख्नलाई प्रशस्तै ठाउँ भए पनि बनाएको सामानहरु राख्नलाई ठाउँ नभएको बताएकी छन्।
उनले अलिक ठूलो बनाएर एकैपल्टमा 30 जना महिलाहरुलाई प्रशिक्षण दिन पर्याप्त ठाउँ भए राम्रो हुने थियो भनी सम्बन्धित निकायलाई अनुरोध गरेकी छन्। यस सोनादा महिला हस्तशिल्प एवं सिलाई बुनाई केन्द्रकी सभापति सपना लामा, सचिव उमा थापा, कोषाध्यक्षा अञ्जना प्रधान, निर्देशिकामा चेलु तामाङ र सदस्यहरुमा सकिला प्रधान, लमु शेर्पा, सनिता तामाङ रहेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक