पाकिम, 04 जून (हि.स.)। पाकिम जिल्लाको पाचे सामसिङ ग्राम पञ्चायत यूनिट अन्तर्गत फिरफिरे वार्डमा निरन्तर परेको पानीले अन्नबाली, ग्रीन हाउस, गाइको गोठ लगायत केही घरलाई पनि क्षति पुऱ्याएको छ। प्राकृतिक प्रकोपको सूचना पाउनसाथ क्षयक्षतिको जायजा लिन जिल्ला आपदा प्रबन्धन प्राधिकरणका अधिकारीहरूले आज घटनास्थलको भ्रमण गरे।
भ्रमणको उद्देश्य प्रकृतिक प्रकोपले पुऱ्याएको क्षतिको आकलन गर्नु र पीडितहरूलाई तत्काल सहयोग प्रदान गर्नु रहेको थियो। भ्रमण टोलीको अगुवाई पाकिम जिल्लाका महकुमा अधिकारी डाकमान सुब्बाले गरेको थियो। यस क्रममा टोलीले कञ्चन मोटी प्रधानको घरलाई पूर्णरूपमा क्षति पुऱ्याएको पाए भने अरूणा सुब्बाको गाईको गोठ, ग्रीन हाउस र अन्नबालीलाई क्षति भएको पाए।
यसरी नै पूर्ण कुमारी गुरूङको घरलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ भने बिरभोज गुरूङको गाई गोठलाई धेरै क्षति पुऱ्याएको छ। कमल गुरूङको कच्चा घरलाई आंशिक क्षति पुगेको छ भने उनको पक्का घर पूर्णरूपमा ध्वस्त बनेको छ। सोही प्रकारले ऐत बहादुर गुरूङको पक्का घर र पाइपलाइन पूर्णरूपमा ध्वस्त बनेको भ्रमण टोलीले थाहा पाए।
महकुमा अधिकारी डाकमान सुब्बाले जिल्ला प्रशासनको प्रतिबद्धतालाई पुन: पुष्टि गर्दै छिटोभन्दा छिटो सामान्य अवस्था पुनर्स्थापित गरिने आश्वासन दिए। उनले स्थानीय अधिकारीहरूसँगको समन्वयमा प्रशासन प्रभावित परिवारहरूलाई आवश्यक सबै र समयमै सहयोग प्रदान गर्न पूर्ण रूपमा समर्पित रहेको बताए।
हिन्दुस्थान समाचार / प्रदीप