गान्तोक, 04 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज एनएचपीसीका अधिकारीहरूसॅंग महत्वपूर्ण बैठक गरे। एनएचपीसीका अधिकारीहरूको अगुवाई कार्यकारी निदेशक एके दासले गरेका थिए। बैठकमा विकास र सहकार्य सम्बन्धी धेरै प्रमुख विषयहरूमा छलफल भएको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
मुख्यमन्त्रीले विशेष गरी सिक्किमका स्थानीय ठेकादारहरूलाई ₹20 करोड सम्मका परियोजनाहरू प्रदान गर्न जोड दिएको बताएका छन्। यसैगरी, सडक, भवन र नदी संरक्षण संरचनाहरूको निर्माण जस्ता विशेष विशेषज्ञताको आवश्यकता नपर्ने कामहरूमा पनि स्थानीय कार्यबललाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।
मुख्यमन्त्रीले लोकल फर् भोकलको भावना अनुरूप स्थानीय उद्यमहरूलाई सशक्त बनाउनु पर्ने र राज्यको जनताका लागि दिगो रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने महत्त्वमाथि जोड दिए। एनएचपीसीको प्रतिनिधिमण्डलले यस प्रस्तावलाई सकारात्मक रूपमा लिएको र आफ्नो समर्थनको आश्वासन दिएको उनले जानकारी गराएका छन्।
यसबाहेक, सिक्किम सरकारले राज्यको आर्थिक सशक्तिकरणको बृहत्तर हितमा यस नीति निर्देशनलाई सुदृढ पार्न औपचारिक सूचना जारी गर्ने पनि उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीले प्रतिनिधिमण्डलप्रति कृतज्ञता व्यक्त गर्दै सिक्किमका जनताको सामूहिक कल्याण र प्रगतिको लागि राज्यसँग नजिकको समन्वयमा आफ्नो प्रशंसनीय प्रयासहरू जारी राख्न प्रोत्साहित गरे।
हिन्दुस्थान समाचार / बिशाल