गान्तोक, 05 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) को नाम्ची जिल्ला युवा परिषदको विशेष सभा आज पार्टीको नाम्ची जिल्ला कार्यालयमा सम्पन्न भयो। पार्टीका नाम्ची जिल्ला अध्यक्ष स्टीफन गुरुङको अध्यक्षतामा सम्पन्न सो सभामा हालका समसामयिक राजनीतिक, सामाजिक, र प्रशासनिक विषयमा व्यापक छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
युवा परिषदका अध्यक्ष टीआर नेपालले युवाहरु भविष्यका कर्णधार हुन् भन्दै सही र गलत छुट्याउने चेतना विकास गर्नु आजको आवश्यकता भएको बताए। उनले हाल पार्टीद्वारा सञ्चालित 'पेन्शन नट् पोजिशन' अभियान अन्तर्गत विभिन्न विभागमा सेवानिवृत्तिको समय नाघिसकेका अधिकारीहरूमाथि सेवा विस्तारबाट उत्पन्न हुने नकारात्मक प्रभावहरूबारे जानकारी गराउँदै समयमै सेवानिवृत्तिको माग दोहोऱ्याए।
यस सन्दर्भमा, पर्यटन तथा नागरिक उड्डयन विभागका सचिव पदबाट सेवानिवृत्त भएका प्रकाश छेत्रीलाई युवाहरुको तर्फबाट आभार प्रकट गर्दै नवनियुक्त सचिव होण्डाला ग्यल्छेनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरियो।
पार्टीका नाम्ची जिल्ला अध्यक्ष स्टीफन गुरुङले सरकारको असंवेदनशील कर नीतिका कारण जनताको जीवनस्तरमा परेको असरबारे चिन्ता व्यक्त गरे। उनले सदनमा एकजना प्रतिनिधि नहुँदा पनि सीएपी जनताको आवाज बन्ने जिम्मेवारीबाट पछि हटेको छैन भन्दै पार्टीले गरेका प्रयासहरूको उल्लेख गरे।
कार्यक्रमको समापनपछि प्रतिनिधिमण्डलले नाम्ची स्मार्ट सिटी कार्यालयमा सीईओ थुप्देन ग्याल्छेन लाचुङ्पालाई बुझाउने भनिएको ज्ञापनपत्र उनी अनुपस्थित रहेकाले नोडल अफिसर नवीन राईलाई हस्तान्तरण गरिएको जानकारी गराइएको छ।
हिन्दुस्थान समाचार / बिशाल