गान्तोक, 05 जून (हि.स.)। वर्षायामको शुरूमै उत्तर सिक्किममा अविरल वर्षाले व्यापक क्षति पुऱ्याएको मुख्यमन्त्री तामाङले बताएका छन्। पत्रकाहरूसँग कुराकानी गर्दै उत्तर जिल्लाको विभिन्न स्थानमा वर्षाले व्यापक क्षति पुऱ्याएको विषयमा देशका प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको उनले आज अवगत गराए।
उनले उत्तर सिक्किममा फँसेका पर्यटकहरूलाई हेलिकप्टरको माध्यमद्वारा गान्तोक ल्याउने कार्य भइरहेको बताए। उनले 12 सय भन्दा अधिक पर्यटकहरू उत्तर जिल्लाका विभिन्न ठाउॅंमा फँसेका थिए, तर मौसम सफा हुनसाथ उनीहरूलाई हेलिकप्टरको माध्यमद्वारा गान्तोक ल्याउने कार्य शुरू गरिएको बताए। उनले भारी वर्षाका कारण उत्तर जिल्लाको पाँचवटा पुललाई क्षति पुऱ्याएको बताउँदै राज्य सरकारले कनेक्टिभिटी पुनर्स्थापित गर्न गम्भीर भएर काम गरिरहेको बताए।
उत्तर जिल्लामा प्रकृतिक प्रकोपले पुऱ्याएको क्षतिको मूल्याङकन गर्नको निम्ति हिजो आफ्नो अध्यक्षतमा भू राजस्व विभागका अधिकारीहरूलाई लिएर बैठक सम्पन्न गरिएको र उक्त बैठकमा विभागका सचिवको नेतृत्वमा एउटा टोली गठन गरिएको जानकारी गराए। हाल उत्तर जिल्लामा पर्यटकहरूलाई घुम्नको निम्ति अस्थायीरूपमा निषेध गरिएको छ भने सडक सम्पर्कमा सुधार भएपछि पर्यटकहरूलाई उत्तर जिल्ला घुम्नको निम्ति अनुमति दिइने उनले बताए।
मुख्यमन्त्रीले राज्यको छवटा जिल्ला मध्ये एउटा जिल्लामा मात्र पर्यटकहरूलाई जानको निम्ति अस्थायीरूपमा प्रतिबन्ध लगाइएको र रहल पाँचवटा जिल्ला भने पर्यटकहरूको निम्ति खुल्ला रहेको बताए। उनले पर्यटकहरूलाई सिक्किम घुम्न आउने आग्रह पनि गरे।
हिन्दुस्थान समाचार / प्रदीप