गान्तोक, 05 जून (हि.स.)। विद्या भारती सिक्किमद्वारा सिक्किमलगायत दार्जिलिङमा सञ्चालित विभिन्न विद्यालयहरूमा आज विश्व पर्यावरण दिवस पालन गरियो। यस अवसरमा विद्यालयका शिक्षकगण, विद्यार्थीहरू, अभिभावकहरू र एसएमसीका सदस्यहरूको सक्रिय सहभागिता रह्यो।
यस क्रममा आरिटार सरस्वती विद्या निकेतनमा विश्व पर्यावरण दिवस उत्साहको साथमा पालन गरियो। कार्यक्रमको शुरुवात विद्यालयका प्रधानाचार्य रजीत प्रधानको सम्बोधनबाट भयो, जसले पर्यावरण संरक्षणको महत्वमाथि जोड दिए। उनले पर्यावरणको संरक्षणको निम्ति सबैलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न आह्वान गरे।
यसपछि, शिक्षणगण, विद्यार्थीहरू र अभिभावकहरूको सक्रिय सहभागितामा विद्यालय परिसर लगायत खेलमैदानको व्यापक सरसफाई गरियो। यसैगरी, विद्यालय परिसरमा विभिन्न प्रजातिका रुख र फूलका बिरुवाहरू लगाइयो।
कार्यक्रमको मुख्य आकर्षण प्रधानाचार्यद्वारा 'प्लास्टिक मुक्त विद्यालय' घोषणा थियो, जुन भोलि (6 जून) देखि लागू गरिने छ। यस अन्तर्गत विद्यालयमा कसैलाई पनि प्लास्टिक ल्याउन अनुमति दिइने छैन। यस पहलको उद्देश्य विद्यालयलाई पर्यावरणीय उत्तरदायित्वको आदर्श बनाउने लक्ष्य रहेको बताइएको छ।
कार्यक्रमको समापन उपस्थित सबैले सफा, हरियालीपूर्ण र स्वस्थ ग्रहको लागि काम गर्ने प्रतिज्ञा गर्दै गरियो।
हिन्दुस्थान समाचार / बिशाल