गान्तोक, 05 जून (हि.स.)। विश्व पर्यावरण दिवसको अवसरमा आज देवरालीस्थित नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजी परिसरमा एक भव्य कार्यक्रम आयोजन गरियो, जसमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसैगरी, मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए।
यस अवसरमा 'एक पेड़ माँ के नाम' अभियान अन्तर्गत 'मालागिरी' बिरुवा लगाइयो। विलुप्त हुन लागेको यो औषधीय सुगन्धित वृक्षको दुर्लभतालाई ध्यानमा राख्दै कार्यक्रममा उपस्थित सबै गणमान्य व्यक्तिहरूले यसको संरक्षण र संवर्धनप्रति आफ्नो प्रतिबद्धता दर्साउॅंदै मालागिरीको बिरुवा लगाए।
कार्यक्रममा राज्यपाल र मुख्यमन्त्रीको बाहुलीद्वारा पर्यावरणप्रति उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मानित गरियो। यस क्रममा इको क्लब पुरस्कार र निबन्ध प्रतियोगिता पुरस्कार प्रदान गरियो। साथै, पर्यावरणप्रति इमानदार र निष्ठावान व्यक्तिहरूलाई सम्मानित गरियो।
सिक्किम राज्यलाई पर्यावरण शिक्षा कार्यक्रमहरूको सफलतापूर्वक कार्यान्वयनको निम्ति भारत सरकारको पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले 2023-24 र 2024-25 को निम्ति सर्वश्रेष्ठ राज्यको पुरस्कारले सम्मानित गरेको छ। यस अतिरिक्त, 14 मई, 2025 मा नयॉं दिल्लीमा आयोजित समारोहमा रूम्तेक सरकारी उच्चतर माध्यमिक विद्यालयलाई सर्वश्रेष्ठ इको क्लब श्रेणीमा प्रथम स्थान प्राप्त भएको छ।
राज्यपाल माथुरले यस उपलब्धिप्रति प्रसन्नता व्यक्त गर्दै सिक्किमको पर्यावरणीय पहलहरूको सराहना गरे। उनले भने, राज्यको सतत विकासको सोच र पर्यावरणप्रति प्रतिबद्धता अन्य राज्यहरूका लागि उदाहरण हो।
कार्यक्रममा सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, वन एवं पर्यावरण मन्त्री पिन्चो नामग्याल लेप्चा, धर्म विभाग मन्त्री सोनाम लामा, ग्रामीण विकास मन्त्री अरुण उप्रेती, विधायकगण, सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल