उत्तर ग्रीसमा फेरि भूकम्पको धक्का महसुस, माउण्ट एथोस क्षेत्रमा त्रास
earthquake


एथेन्स, 07 जून (हि.स.)। ग्रीसको उत्तर भागमा स्थित माउण्ट एथोसको ग्रीक अर्थोडक्स धार्मिक स्थलमा 5.3 तीव्रताको भूकम्प गएको छ, जसले गर्दा स्थानीय र तीर्थयात्रीहरूमा डर र त्रास फैलिएको छ। यो भूकम्प पछिल्लो चार दिनमा दोस्रो पटक महसुस गरिएको हो।

एथेन्सको जियोडायनेमिक्स संस्थान अनुसार, भूकम्प समुद्रमुनि 12.5 किलोमिटर (7.7 माइल) गहिराइमा गएको थियो। यसको केन्द्रबिन्दु माउण्ट एथोसको प्रशासनिक राजधानी कारायेसको उत्तरपश्चिममा रहेको हल्किडिकी प्रायद्वीपमा रहेको थियो। भूकम्पको धक्का वरपरका धेरै क्षेत्रहरूमा पनि स्पष्ट रूपमा महसुस गरिएको थियो। यद्यपि, भूकम्पबाट कुनै ठूलो क्षति वा ज्यान गुमाउने कुनै रिपोर्ट छैन।

माउण्ट एथोसका गभर्नर अल्किवियाडिस स्टेफनिसले सबैजना सुरक्षित रहेको र आत्तिनु पर्ने अवस्था नहेको बताए। उनले भने, भूकम्पको समयमा मठ क्षेत्रमा भ्रमण गरिरहेका एक व्यक्ति लडे र उनको हातमा चोट लाग्यो। उनलाई उपचारको लागि अस्पताल लगिएको थियो।

स्थानीय प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ र सावधानी अपनाउन सबै मठ र भवनहरूको संरचनात्मक निरीक्षण पनि भइरहेको छ। विज्ञहरूका अनुसार, यस क्षेत्रको भूकम्पीय गतिविधिलाई ध्यानमा राख्दै, भविष्यमा थप कम्पनको सम्भावनालाई नकार्न सकिँदैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande