खरसाङमा एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
खरसाङमा एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न


खरसाङ, 14 जुलाई (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न भएको छ।‌ खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न टेबल टेनिस टुर्नामेन्टमा सिलगढी, दार्जिलिङ, खरसाङ, कालेबुङ, गोरुबथान लगायत विभिन्न स्थानहरुबाट प्रतियोगीहरु सहभागी बनेका थिए।

यस टुर्नामेन्ट अन्तर्गत पुरुष एकलमा सिलगढीका‌ बिनीत प्रधान विजय भए भने कालेबुङका याकुब तामाङ उप विजेता भए। त्यसरी नै महिला एकलमा टिस्टा तोर्सा सिलगढीकी साहिनिका चाकी विजेता र सिलगढीकै साईना भौमिक उप विजेता बनिन्।‌

यसरी नै सोही प्रतियोगिता अन्तर्गत अण्डर 16 बोइजमा सिलगढीको सोहन पल‌ विजेता र सिलगढीकै मयुक सरकार उप विजेता बने। मेन्स सिंगल्सका‌ विजेतालाई ट्रफीको साथमा‌ 8 हजार र उप विजेतालाई ट्रफीको साथमा‌ 4 हजार प्रदान गरियो।

यसैगरी, महिला वर्गको विजेता र उप विजेतालाई ट्रफीसहित 4 हजार र 2 हजार तथा अण्डर 16 बोइजलाई ट्रफीसहित 4 हजार र 2 हजार रुपियाँ प्रदान गरियो। यस एक दिवसीय टेबल टेनिस प्रतियोगिताको फाइनल खेलमा अतिथिको रुपमा विद्युत् विभाग खरसाङका प्रबन्धक सन्दीप तामाङ, पूर्व नगरपालिका चेयरम्यान समीरदीप ब्लोन र ब्याडमिन्टन एसोसिएशनका सभापति प्रेमेन्द्र गुरूङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

संयोजक बिजय राईले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी वर्ष पनि टेबल टेनिस प्रतियोगिता आयोजना गरिने बताउँदै यो टुर्नामेन्ट पहाडका खेलाडीहरुलाई मञ्च प्रदान गर्ने उद्देश्य गरिएको बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande