बिजनबारी खण्डको लोवर गोकमा ढुंगाले चेप्टेर दुईजनाको निधन
Body of the deceased


दार्जिलिङ, 17 जुलाई (हि.स.)।दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ गोक एक ग्राम पञ्चायतको लोवर गोकमा बुधवार साँझ माथिबाट ढुङ्गा झर्दा यसको चपेटमा परेर दुईजनाको दु:खद निधन भएको छ। घटनाअनुसार लोवर गोक जामुने नजिकैको जंगलमा खाने पानी बनाएर फर्किने क्रममा एकास्सी माथिबाट ढुङ्गा खसेपछि उक्त दु:खद घटना घटेको बताइएको छ।

ढुङ्गाले चेप्टिएर लगभग 29 वर्षीय प्रनिल जोगीको घटनास्थलमै ज्यान गएको तथा ढुंगाले लागेर गम्भीर रूपमा घाइते बनेकी स्थानीय छ वर्षीय छोरी सामान्त सुब्बाको अस्पताल लैजाने क्रममा निधन भएको परिवार सूत्रले जनाएको छ। प्रनिल जोगी खरसाङको सिंगेल चियाबारी अन्तर्गत कोठीधुरा निवासी रहेको तथा पेशाले जेसीबीको ड्राइभर रहेको थाहा लागेको छ भने प्रनिल सामान्तको फुपूको छोरा रहेको बताइएको छ।

यसका साथै प्रशासनले स्थलगत भ्रमण गर्दै आवश्यक कार्वाही शुरु गरेको तथा मृतदेहलाई पोस्टमार्टमको निम्ति दार्जिलिङ जिल्ला अस्पताल पठाईएको प्रशासनले बताइएको छ। आज दार्जिलिङ जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर मृत देहलाई खरसाङको सिंगेल चियाबारी अन्तर्गत कोठीधुरास्थित घरमा ल्याइने स्थानीयहरुले जानकारी गराएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande