कालेबुङ कलेजमा सिमसार संरक्षण विषयक एक दिवसीय राष्ट्रिय सङ्गोष्ठी सम्पन्न
कालेबुङ कलेजमा सिमसार संरक्षण विषयक एक दिवसीय राष्ट्रिय सङ्गोष्ठी सम्पन्न


सोनादा, 17 जुलाई (हि.स.)। वनस्पति विज्ञान विभाग, कालेबुङ कलेजको आयोजनामा तथा पूर्व कोलकाता सिमसार व्यवस्थापन प्राधिकरण, वातावरण विभाग, पश्चिम बंगाल सरकारको प्रायोजनमा “हाम्रो साझा भविष्यका लागि सिमसार संरक्षण” शीर्षकमा एक दिवसीय राष्ट्रिय सेमिनार सम्पन्न गर्‍यो। सेमिनारको उद्देश्य सिमसार क्षेत्रहरूको जैविक, पारिस्थितिक र सामाजिक महत्त्वबारे जनचेतना फैलाउने र संरक्षणको आवश्यकता उजागर गर्नु रहेको थियो।

देवी छेत्री (शिक्षक-प्रभारी कालेबुङ कलेज) ले स्वागत सम्बोधनमा यस्तो शैक्षिक कार्यक्रमहरूले वातावरण संरक्षणप्रति चेतना बढाउने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्। परिचयात्मक मन्तव्य दिदैँ डा. जयश्री प्रधानले (सङ्ग‍ोष्ठी संयोजक तथा वनस्पति विज्ञान विभाग प्रमुख) संङ्गोष्ठीको पृष्ठभूमि, उद्देश्य, र दलदल संरक्षणको सन्दर्भमा यसको महत्वबारे प्रकाश पारिन्।

प्राविधिक सत्रहरू सेमिनारलाई दुई भागमा विभाजन गरी प्रथम सत्रमा प्रोफेसर (डा.) मनोरञ्जन चौधरी, उत्तर बंगाल विश्वविद्यालयको वनस्पति विभागले आफ्नो मुख्य वक्तव्यमा सिमसारको पारिस्थितिक महत्व, जैव विविधता, जलचक्र नियन्त्रण र वातावरण सन्तुलनमा यसको भूमिकाबारे विस्तृत जानकारी दिए। डा. स्वर्णेन्दु राय, सहायक प्राध्यापक, उत्तर बंगाल विश्वविद्यालयले सिमसार क्षेत्रमा भइरहेका मानवजन्य असरहरू, जस्तै शहरीकरण, प्रदूषण, र भू-प्रयोग परिवर्तनका कारण उत्पन्न हुने संकटहरूबारे आफ्नो प्रस्तुति दिएका थिए।

दोस्रो सत्रमा डा. उपासना छेत्री, सहायक प्राध्यापक, असम रोयल ग्लोबल विश्वविद्यालय, गुवाहाटी, ले नीति त्रुटिहरू, संरक्षण योजनाहरू, र सामुदायिक प्रयासहरूबारे आफ्नो प्रस्तुति दिॅंदै हिमाली क्षेत्रका सिमसारहरू संरक्षणमा योगदान पुर्‍याउन सक्ने कुरो बताइन्। यसपछि विभिन्न शैक्षिक संस्थाबाट आएका शोधकर्ताहरूले आफ्ना मौखिक अनुसन्धान प्रस्तुतिहरू राखेका थिए जसले दलदल सम्बन्धी वनस्पति, जीवजन्तु, संरक्षण प्रयास र जलवायु परिवर्तनको असरहरूलाई समेटेका थिए। यो सत्रलाई कलेजका भूगोल बिभागका सहायक प्राध्यापक डा. आदित्य सुब्बाले अध्यक्षता र प्रतिवेदकको भूमिका, प्राणीविज्ञानका आशिष छेत्रीले निर्वाह गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande