(संशोधन) वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर 'कञ्चनजङ्घा कलम पुरस्कार 2025' ले अभिनन्दित
अरुण उप्रेती


- फोटो जर्नलिस्ट पेमा वाङछेन लामालाई 'लगनशील युवा पत्रकार पुरस्कार 2025'- चार जना वरिष्ठ पत्रकारलाई 'पत्रकारिता सेवा गौरव सम्मान'

गान्तोक, 17 जुलाई (हि.स.)। वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोरलाई 'कञ्चनजङ्घा कलम पुरस्कार 2025' ले अभिनन्दित गरिएको छ। प्रेस क्लब अफ् सिक्किमको 23औं स्थापना दिवसको अवसर आज पत्रकार पाल्जोरलाई अभिनन्दित गरिएको हो।

राजधानीको चिन्तन भवनमा आयोजित एक कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित ग्रामीण विकास विभाग मन्त्री अरुण उप्रेतीको बाहुलीद्वारा पत्रकार पाल्जोरलाई अभिनन्दित गरियो। डिजिटल न्यूज पोर्टल इस्ट मोजोका सह संस्थापक पाल्जोरलाई पुरस्कार स्वरूप अंगवस्त्र, अभिनन्दन पत्र, स्मृति चिन्ह सहित प्रेस क्लब अफ् सिक्किमको तर्फबाट 31 हजार रूपियॉं र सिक्किम सरकारको तर्फबाट एक लाख एक हजार रूपियॉं अर्पण गरियो।

यसैगरी, सिक्किम एक्सप्रेसका फोटो जर्नलिस्ट पेमा वाङछेन लामालाई यसपाली 'लगनशील युवा पत्रकार पुरस्कार 2025' ले अभिनन्दित गरियो। उनलाई मुख्य अतिथि लगायत विशिष्ट अतिथिहरूको बाहुलीद्वारा अंगवस्त्र, अभिनन्दन पत्र, स्मृति चिन्ह र प्रेस क्लब अफ् सिक्किमको तर्फबाट 11 हजार रूपियॉं र सिक्किम सरकारको तर्फबाट 51 हजार रूपियॉं अर्पण गरियो।

कार्यक्रममा राज्यमा लामो समयदेखि पत्रकारिताको क्षेत्रमा योगदान पुऱ्याउॅंदै आएका चार जना पत्रकारलाई 'पत्रकारिता सेवा गौरव सम्मान' ले सम्मानित गरियो। सम्मानित पत्रकारहरूमा एसके खवास, चित्र बहादुर छेत्री, बिनोद तामाङ र नरेन्द्र राई सामेल छन्। यसैगरी, नाम्चीका समाचार पत्र विक्रेता मोहम्मद रमजानलाई 'समाचार पत्र वितरक सम्मान' ले सम्मानित गरियो। यस अतिरिक्त, हालैमा डा. शोभाकान्ति थेगिम पुरस्कारले अभिनन्दित पत्रकार एवं कवि प्रविण खालिङलाई पनि प्रेस क्लब अफ् सिक्किमको तर्फबाट सम्मानित गरियो।

मुख्य अतिथि मन्त्री उप्रेतीले आफ्नो सम्बोधनमा आज अभिनन्दित सबै पत्रकारहरूलाई हार्दिक बधाई दिए।

कार्यक्रममा आफ्नो स्वागत सम्बोधन राख्ने क्रममा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले वर्तमान सरकारद्वारा राज्यका पत्रकारहरूको कल्याण र पत्रकारिता क्षेत्रको संवर्द्धनका लागि गरिएका कार्यहरूको बारेमा जानकारी दिए।

कार्यक्रमलाई अभिनन्दित पत्रकारद्वय कर्म साम्तेन पाल्जोर र पेमा वाङछेन लामाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन प्रेस क्लब अफ् सिक्किमका महासचिव डीआर दुलालले राखेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande