- बगान मालिकविरूद्ध कारबाही गर्नुपर्ने युनियनको मागखरसाङ, 17 जुलाई (हि.स.)। सन् 2013 देखि लङभ्यू चिया बगानको मालिकले नियमित रुपमा पीएफ राशि जम्मा नगरेको विषयलाई लिएर आज हिल प्लान्टेसन इम्प्लोइज युनियनले सिलगढी रिजनल पीएफ कार्यालयमा धरना प्रदर्शन गऱ्यो। भुक्तभोगी लङभ्यू चिया बगानका श्रमिकहरूले आज दिउँसो दार्जिलिङ मोडबाट सिलगढी जंक्शनसम्म जुलूस निकालेका थिए।
जंक्शन परिसरमा अवस्थित रिजनल पीएफ कार्यालय पुगेको उक्त जुलूस धरनामा परिणत भयो। धरनामा सयौँ चिया श्रमिकहरू उपस्थित थिए। धरना अवधि युनियनका केन्द्रिय समिति सचिव छेवाङ योञ्जन, सदस्य तनुजा लामा, लङभ्यू टुनिटका सचिव विन्ध्य थापा, सहसचिव सजिना योञ्जन र सदस्य कविता पाख्रनले रिजनल पीएफ कमिस्नर एसएन घोषसँग भेट गरी 2013 देखि मालिकले पीएफ जमा नगरेको विषयबारे अवगत गराए।
कमिस्नरसँगको भेट अवधि यी प्रतिनिधि टोलीले दुईवटा ज्ञापन पत्र पनि पेश गरेको छ। ज्ञापन पत्रमा पीएफ कानुनको धारा 7 ए अन्तर्गत कम्पनी विरूद्ध कारबाही गर्नुपर्ने माग गरिएको छ भने अर्को ज्ञापन पत्रमा बगान स्तरमा देखा परेको पीएफ सम्बन्धित समस्याहरू जस्तै, नाम, जात, लिङ्ग, सम्पर्क नम्बर आदिको संशोधन, अनलाइन प्रक्रियामा समस्या आदि उल्लेख छन्।
यता, कमिस्नर घोषले श्रमिक प्रतिनिधिहरूलाई सम्बोधन गर्दै आगामी 30 जुलाईको दिन बगान स्तरमा एउटा क्याम्प राख्ने आश्वासन दिएका छन् भने कम्पनी मालिक विरूद्ध पनि चरणबद्ध रुपमा कारबाही शुरू गर्ने आश्वासन दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक