मंगन नगर पञ्चायतलाई सिक्किममा प्रमिसिङ क्लीन सिटी पुरस्कार
मंगन नगर पञ्चायतलाई सिक्किममा प्रमिसिङ क्लीन सिटी पुरस्कार


गान्तोक, 17 जुलाई (हि.स.)। मंगन नगर पञ्चायतलाई सिक्किममा प्रमिसिङ क्लीन सिटी पुरस्कार प्राप्त भएको छ। उक्त पुरस्कार केन्द्रिय आवास एवं शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले आज नयॉं दिल्लीको विज्ञान भवनमा आयोजित स्वच्छ सर्वेक्षण पुरस्कार 2024-25 मा प्रदान गरे। उक्त पुरस्कार शहरी स्वच्छता र सरसफाई प्रयासहरूको लागि प्रदान गरिएको हो।

सिक्किमको तर्फबाट शहरी विकास विभाग मन्त्री भोजराज राई, मंगन नगर पञ्चायत सभापति नोर्कित लेप्चा, पार्षद प्रेमकित लेप्चा, विभागका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे, विभागकी सचिव योगिता राई आदिले उक्त पुरस्कार ग्रहण गरे।

यो कार्यक्रम स्वच्छ भारत मिसन, अर्बन अन्तर्गत गरिएको विश्वको सबैभन्दा ठूलो शहरी सरसफाई सर्वेक्षण स्वच्छ सर्वेक्षणको 2024 संस्करणको समापन थियो। यस वर्ष सर्वेक्षणमा देशभरका 4,500 भन्दा धेरै शहरी स्थानीय निकायहरू सहभागी बनेका थिए। सर्वेक्षणमा शहरहरूको नागरिक प्रतिक्रिया, फोहोर व्यवस्थापन, नवाचार र समग्र सरसफाई अभ्यास जस्ता मापदण्डहरूमा मूल्याङ्कन गरिएको बताइएको छ।

मंगन नगर पञ्चायतको ठोस फोहोर प्रबन्धन, स्वच्छता, पूर्वाधार र सामुदायिक संलग्नता पहलको लागि सराहना गरिएको छ। सिक्किमका अन्य शहरी स्थानीय निकायहरूले पनि यस वर्षको स्वच्छ सर्वेक्षण संस्करणमा विगतका वर्षहरूको तुलनामा धेरै राम्रो प्रदर्शन गरेको शहरी विकास विभागले विज्ञप्तिमा बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande