पॉंच दिवसीय रांके मेलाको सफलतापूर्वक समापन
पॉंच दिवसीय रांके मेलाको सफलतापूर्वक समापन


नाम्ची, 17 जुलाई (हि.स.)। पॉंच दिवसीय नाम्ची रांके मेलाको आज समापन भएको छ। समापन समारोहमा पर्यटन विभाग मन्त्री टीटी भोटिया मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा र पूर्व विधायक एवं नाम्ची रांके मेलाकी प्रमुख संरक्षक कृष्ण राई विशिष्ट अतिथि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अ​तिथि मन्त्री भोटियाले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा नाम्चीको उल्लेखनीय विकास भएको बताए। नाम्ची राँके मेला जस्ता महोत्सवहरूले सांस्कृतिक उत्सवको रूपमा मात्र नभई युवा पुस्तालाई राज्यको सम्पदाको बारेमा शिक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

मन्त्रीले आर्थिक विकासलाई प्रवर्द्धन गर्न स्थानीय महोत्सवहरू र पर्यटनलाई एकीकृत गर्न आह्वान गर्दै यस्ता कार्यक्रमहरूलाई प्रवर्द्धन गर्न विभागको पूर्ण सहयोग रहने आश्वासन दिए। उनले सिक्किम इन्स्पायर्स जस्ता पहलहरू मार्फत विशेष गरी सिक्किमेली युवाहरूका लागि उद्यमशीलता र आत्मनिर्भरतालाई बढावा दिने उद्देश्यले शुरू गरिने आगामी योजनाहरूको बारेमा जानकारी गराए।

क्षेत्र विधायक सतिशचन्द्र राईले रांके मेलालाई सफल तुल्याउन मुख्यमन्त्रीबाट प्राप्त अटल समर्थनको लागि कृतज्ञता प्रकट गरे। उनले नाम्ची, सोरेङ र गेजिङलाई प्रमुख पर्यटन केन्द्रको रूपमा विकास गर्ने आफ्नो भिजन दोहोऱ्याए। उनले प्रमुख संरक्षक कृष्ण राईलाई पनि समर्थन र उ​पस्थितिको लागि धन्यवाद दिए।

समापन समारोहमा ग्रामीण खेलकुद गतिविधिहरू सम्पन्न गरिए। महिला वर्गको टग अफ वारमा मणिराम फालीडॉंडा जीपीयू र पुरुष वर्गको टग अफ वारमा लोकल ट्याक्सी एसोसिएशन टीम ए विजयी बने। कार्यक्रममा सिक्किम, नेपाल र असमका मोटरसाइल क्लब र राइडरहरूलाई सम्मानित गरियो।

समापन समारोहमा विधायक रिक्सल दोर्जी भोटिया, विधायक एनबी प्रधान, जिल्ला अध्यक्ष रन्जिता राजालिम, जिल्लापाल अनुपा तामलिङ आदि पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande