तृणमूलको 'शुद्धिकरण अभियान'-बाट नेताहरू सशंकित
तृणमूलको 'शुद्धिकरण अभियान'-बाट नेताहरू सशंकित


-पार्टी नेताहरूको गोपनीय कृत्यहरूको खुलासा गरेर 'अलर्ट' गर्नमा जुट्यो तृणमूलको सहयोगी संस्थानबर्दवान, 17 जुलाई (हि.स.)। विधानसभा चुनाउ- 2026 पूर्व तृणमूल कंग्रेसका सहयोगी संस्थाद्वारा संचालित तथाकथित 'शुद्धिकरण अभियान'-ले बर्दवान जिल्लाका कतिपय नेताहरूको निन्द्रा भंग गरिदिएको छ। यस अभियान अन्तर्गत पार्टी नेताहरूको निजी जीवन, सम्पत्ति, सम्बन्ध तथा आचरणसित जोड़िएका गोपनीय जानकारीहरू सोझै उनीहरूको ढोकामा पुगेर सुनाइँदैछ जसबाट केही नेताहरू स्तब्ध भएका छन् भने केही चिन्तित।

सूत्र मुताविक संस्थाले पार्टीको प्रत्येक स्तरका नेताहरूको बारेमा विस्तृत जानकारी संग्रह गरेर राखेको छ। यहाँसम्म कि कोसित कति जमीन छ, को ठेकादारको नजिकमा छ, कसको ब्यांक ब्यालेन्स कति छ, कुन नेता कुन क्षेत्रमा गोपनीय ढंगमा बस्छन् जस्ता जानकारीहरू सम्बन्धित नेताहरू समक्ष पुगेर बताउँदै नेताहरू अवाक भइरहेका छन्।

ताजा उदाहरण बर्दवान जिल्लास्थित रायना क्षेत्रका एकजना तृणमूल नेताको हो। संस्थाका प्रतिनिधिहरू उनी समक्ष पुग्दा उनले पार्टीको लागि आफूले गरेको 'संघर्ष'-को कथा सुनाउन थाले। तर केही क्षणमै प्रतिनिधिहरूले प्रश्न गरे, “तपाईको बर्दवानमा पनि एउटा भव्य घर छ होइन? तपाईले त्यहीँ रात बिताउनु हुन्छ?” यो सुनेर नेता हक्क न बक्क भए। त्यस घरको जानकारी सीमित मानिसहरूलाई मात्र थियो, तर यो टीमलाई कसरी थाहा भयो? नेताजीले सोचिरहे।

राजनीतिक विशेषज्ञहरूको भनाइ छ, यो अभियान वास्तवमा सत्तारूढ़ दलभित्र रहेको भ्रष्टाचार र भोगविलासी प्रवृत्तिमाथि लगाम कस्ने प्रयास हो। एक समयमा वामपन्थी नेताहरूले चप्पल लगाउँथे, फाटेको कपड़ामा बस्थे ताकि 'गरीब नेता'- को छविलाई कायम राख्न सकियोस्। पछि ती नेताहरूमाथि नै करोड़ौं रुपियाँको सम्पत्ति लुकाएको र भ्रष्टाचार गरेको आरोप लाग्यो।

अब त्यस्तै स्थिति तृणमूल कंग्रेसको एक वर्गमा देखिँदैछ। कतिपय नेताहरूले सार्वजनिक रूपमै सुनको चेन, औंठी, महँगो ब्राण्डको कपड़ा लगाएर घुम्छन् भने कतिपयले गुप्त रूपमा बेहिसाब सम्पत्ति थुपारेका छन्। यसबाट जनतामा मात्र नभएर पार्टी कार्यकर्ताहरूमाझ पनि असन्तुष्टि बढ़्दै गइरहेको छ।

सूत्र अनुसार यो 'शुद्धिकरण अभियान' चेताउनी मात्र होइन जबकि आगामी चुनाउको लागि उम्मेद्वार चयन प्रक्रियाको एक भाग पनि हो। संस्थाका प्रतिनिधिहरूले नेताहरूसित सोधिरहेका छन्,“तपाईको क्षेत्रमा कसलाई उम्मेद्वार बनाउनु?” जब कुनै नेताले हाँस्दै आफ्नो नाम सुझाउँछन् भने तुरून्त उनलाई उनको 'पुराना कृत्यहरू'-को सूची सुनाइन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande