घरेलु उत्पादन एलोभेरा तथा तितेपाती समावेश जैविक साबुन सार्वजनिक
घरेलु उत्पादन एलोभेरा तथा तितेपाती समावेश जैविक साबुन सार्वजनिक


बिजनबारी, 21 जुलाई (हि.स.)। रङ्गीत मजुवामा घरेलु उद्योगद्वारा निर्मित एलोभेरा तथा तितेपाती समावेश गरिएको जैविक नुहाउने साबुनको औपचारिक रूपमा सार्वजनिक गरिएको छ। ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चाको न्यानो आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वप्रधान सविन राई लगायत क्षेत्रका विभिन्न समाज तथा संघ–संस्थाका प्रतिनिधिहरू, डा. राधाकृष्णन् उच्चतर माध्यमिक विद्यालयका शिक्षकगण तथा स्थानीय जनसाधारणहरूको उपस्थिति रहेको थियो।

शिक्षक प्रवीण राईद्वारा सञ्चालित कार्यक्रममा घरेलु उत्पादन साबुन उत्पादक विशन राईले आफ्ना अनुभव व्यक्त गर्दै स्थानीय स्रोतसाधनको प्रयोगद्वारा निर्मित उत्पादनलाई सबैले साथ र प्रोत्साहन प्रदान गर्न आग्रह गरे। उनले आगामी दिनमा अन्य विविध प्रकारका घरेलु जैविक उत्पादनहरू गर्न सकिने विश्वास व्यक्त गर्दै यसको लागि सामूहिक सहकार्य र सद्भाव आवश्यक रहेको बताए।

ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चाले आफ्नो मन्तव्यमा मजुवा ग्राम पञ्चायतभित्र यस्ता सिर्जनात्मक तथा आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने कार्यक्रमको आयोजना भएकोमा हर्ष प्रकट गर्दै यसले स्थानीय स्तरमा उद्यमशीलताको विकासमा प्रेरणा दिने विश्वास व्यक्त गरे। यसरी नै युवापुस्ताले नयाँ आयम र प्रोत्साहनजनक कार्यहरूमा आफूलाई दृढ संकल्पको साथ लगनशीलताले कामहरू गर्दै अगाडि बडिरहे गाउँ क्षेत्रको नाम रोशन गर्ने उनले पूर्ण भरोसा व्यक्त गरे।

कार्यक्रमको समापनतर्फ आयोजक पक्षको तर्फबाट खालिङ गाउँ नविन युवा समाजका सचिव विशाल राईले उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande