सोनादा, 21 जुलाई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समिति सेक्रेटरी जनरल तथा दार्जिलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बाले हालैको निरन्तर झरीका कारण पहाडका विभिन्न स्थानहरूमा उत्पन्न विपद् स्थिति तथा जनताको अपीललाई मध्यनजर गर्दै तारपोलिन लगायतका आपतकालीन राहत सामग्रीको वितरणलाई निरन्तरता दिएका छन्।
विधायक जिम्बाले जानकारी दिॅंदै भने, 'मेरो विधानसभा क्षेत्र दार्जिलिङ अनि अन्य क्षेत्रका नागरिकहरूले गरेका अपीलको सम्मान गर्दै मैले विभिन्न पैह्रो प्रभावित क्षेत्रहरूमा राहत पुर्याउने कार्यलाई जारी राखेको छु। झरीका वर्षाका कारण पहाडको अवस्था अहिले निकै गम्भीर छ, यस्तो अवस्थामा म आफ्नो क्षमताअनुसार सहयोग पुर्याउन हरसम्भव प्रयास गरिरहेको छु।'
यसैक्रममा विधायक जिम्बाले खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा टाउन कमिटीलाई 30 वटा तारपोलिन हस्तान्तरण गरेका छन् भने मिरिक ब्राञ्च अन्तर्गत सौरेनी समष्टिलाई समेत 30 वटा तारपोलिन सहयोगस्वरूप उपलब्ध गराएका छन्। स्थानीय जनता तथा पार्टी कार्यकर्ताहरूले विधायक जिम्बाद्वारा गरिएको राहत प्रयासको सराहना गर्दै धन्यवाद व्यक्त गरेका छन्। विपद्को यस घडीमा गरिएका यस्ता सक्रिय प्रयासहरूले जनतामा आशा, सुरक्षा र एकताको भावना बलियो बनाएको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक