गान्तोक, 21 जुलाई (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी राज्य स्तरीय नारी शक्तिको तत्वावधानमा आज राजधानीमा एक सम्मान कार्यक्रम आयोजन गरियो। कार्यक्रममा नारी वर्गबाट नवनियुक्त ओएसडी, अध्यक्ष र सल्लाहकारगणलाई बधाई तथा शुभकामना दिइएको जानकारी एसकेएम प्रचार प्रसार प्रकोष्ठ अध्यक्ष रञ्जना प्रधानले प्रेस विज्ञप्तिमा दिएकी छन्।
नारी प्रकोष्ठकी उपाध्याक्ष प्रभारी छिरिङ पाल्देन भोटियाको सभाध्याक्षतामा सम्पन्न कार्यक्रममा नारी शक्तिकी राज्य स्तरीय अध्यक्षा बीणा राई लगायत नारी शक्तिका सम्पूर्ण कार्यकारिणी सदस्यहरूको उपस्थिति रहेको थियो। नारी शक्ति गान्तोक जिल्ला संयोजक एवं नवनियुक्त ओएसडी दिना छेत्रीको स्वागत सम्बोधनबाट शुरू भएको यस कार्यक्रममा नारी वर्गबाट नवनियुक्त सल्लाहकार, अध्यक्षा तथा ओएसडीहरूलाई खदा लगाई दिएर हार्दिक बधाई तथा सुखद कार्यकालको कामना गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त पदाधिकारीहरूले राज्यका नारीहरूलाई मान, सम्मान प्रदान गर्दै राज्य सरकारको विभिन्न विभागहरूमा उच्च पदहरूमा नियुक्ति गरेकोमा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक आभार व्यक्त गरे। वक्ताहरूले आ आफ्नो जिम्मेवारी र दायित्व पूर्ण इमान्दारिताका साथ निर्वहन गर्ने प्रतिबद्वता जाहेर गरे। पार्टी अध्यक्षले सुम्पेको दायित्वलाई आफ्नो कर्तव्य सम्झेर निभाउने मन्तव्य राख्दै पार्टी र सरकारको मार्गनिर्देशनमा जनताको सेवा गर्ने वचनवद्वता व्यक्त गरे।
आफ्नो सम्बोधनमा नारी शक्तिकी राज्य अध्यक्षा बीणा राईले आफ्नो व्यवहार र कार्यले नै सँधै आफूलाई आफ्नो पदमा बनाइराख्ने मन्तव्य व्यक्त गरिन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा आज राज्यका स्वयं सहायता समूहका नारीहरूलाई पनि सिक्किमको इतिहासमा पहिलोपल्ट सरकारको उच्च पदहरूमा आसिन गराउने कार्य भएको उनले बताइन्।
सभाध्याक्षको आसनबाट बोल्दै उपाध्याक्ष प्रभारी छिरिङ पाल्देन भोटियाले सम्पूर्ण नवनियुक्त पदाधिकारीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिइन्। उनले मुख्यमन्त्री केवल वचनमा मात्र नभई व्यवहारमा पनि सशक्त रहेको उल्लेख गरिन्। आफूले घोषणा गरे मुताबिक अध्यक्षले नारीहरूलाई सम्मान जनाउँदै विभिन्न उच्च पदहरूमा नियुक्त गरेको बताइन्। आफूले प्राप्त गरेको जिम्मेवारीलाई निष्ठाका साथ निर्वहन गर्न उनले सबै पदाधिकारीहरूलाई आग्रह गरिन्।
हिन्दुस्थान समाचार / बिशाल