गान्तोक, 22 जुलाई (हि.स.)। पद्मश्री पुरस्कारले सम्मानित स्वर्गीय काजी सिंहको सम्मानमा आगामी 25 जुलाईका दिन राजधानीमा एक श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा विशेषगरि स्वर्गीय काजी सिंहले सृजना गरेका गीतहरू प्रस्तुत गरिने बताइएको छ।
राजधानीको तादोङस्थित प्रेस क्लब भवनमा आज आयोजित एक पत्रकार सम्मेलनमा डा. मनोज राईले उक्त जानकारी दिए। उनले सिक्किमका कलाकारहरू र टीएनएको अर्गनाइजेशनको सहकार्यमा उक्त श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने बताए। स्वर्गीय सिंहले टीएनएमा लगभग 30 वर्षसम्म एक शिक्षकको रूपमा कार्य गरेको पनि उनले अवगत गराए।
उनले मनन भवनको मिनी थिएटरमा सॉंझ चार बजीदेखि कार्यक्रम शुरू हुने बताए। उनले कार्यक्रममा स्वर्गीय काजी सिंहका समकालिन कलाकारहरू सबैलाई निमन्त्रणा गरिएको बताए।
स्वर्गीय काजी सिंहका सुपुत्र एवं एक प्रख्यात पखावज वादक निशान्त सिंहले सिक्किमका कलाकारहरू र टीएनएप्रति आभार प्रकट गर्दै उनीहरूकै समर्थनमा यो कार्यक्रम हुन लागिरहेको बताए। उनले उक्त दिन सबैलाई उपस्थित भइदिएर कार्यक्रमलाई सफल बनाइदिन अनुरोध पनि गरे। उनले कार्यक्रममा उनका पिताले सिर्जना गरेका सबै गीतहरू र अन्य कार्यहरूको बारेमा तयार पारिएको एउटा वृत्तचित्र पनि प्रदर्शित गरिने बताए।
गायक पवन राईले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य स्वर्गीय काजी सिंहलाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै युवा पीढीलाई स्वर्गीय सिंहका सिर्जनाहरू सुनाउनु पनि रहेको बताए। उनले उक्त कार्यक्रम सिक्किमका कलाकारहरू मिलेर गरिरहेको बताउॅंदै यस कार्यक्रमले सबैलाई एकजुट बन्न मञ्च पनि प्रदान गरिरहेको बताए।
यसैगरी, स्वर्गीय काजी सिंहका विद्यार्थी सोनामले कार्यक्रममा टीएनएका सबै पूर्व विद्यार्थीहरू र संगीत प्रेमीहरूलाई उपस्थित भइदिन अनुरोध गरे।
हिन्दुस्थान समाचार / बिशाल