- एटीएम र आधार कार्डहरू जफत
कोलकाता, 23 जुलाई (हि. स.)। कोलकाता पुलिसले एक अन्तर्राज्यिय अनलाइन औ एटीएम ठगी गिरोहको खुलासा गर्दै सात जना आरोपीहरूलाई पक्राउ गरेको छ। यिनीहरूमध्ये तीन जना आरोपीहरू ओड़िशाको भद्रक जिल्लाका निवासी हुन् जो हालैमा हावड़ाको एक होटलमा बसेका थिए। पुलिसले यिनीहरूको कब्जाबाट धेरैवटा ब्यांकको एटीएम कार्ड, आधार कार्ड र मोबाइल फोन जफत गरेको छ।
हावड़ा पुलिस कमिश्नरेटद्वारा बुधवार जारी एक बयानमा बताइएको छ, मामिलाको शुरूआत गए मंगलवार भएको हो जतिबेला गार्डनरिच थानाका सब-इन्स्पेक्टर पाल्देन भोटियाले एउटा संदिग्ध वाहनलाई देखेर कारबाही शुरू गरे। तारातला रोडमा उक्त वाहनलाई रोकेर जाँचबुझ गर्दा चार जना युवकहरूको कुरामा विरोधाभास देखियो। पुलिसले वाहनबाट एउटा ब्यागलाई जफत गऱ्यो जसमा केही एटीएम कार्डहरू थिए। त्यसपछि चारै जना युवकहरू क्रमैले साहिनुर रहमान फकिर, शेख राहुल, शेख आसफाक र आशिक मिस्त्रीलाई पक्राउ गरियो। यिनीहरू सबै दक्षिण कोलकाताको सन्तोषपुर क्षेत्रका निवासी हुन्।
चारै जना आरोपीहरूसित जाँचबुझ गर्दा थप तीन जना मानिसहरूको नाम सामु आयो। त्यसपछि पुलिसको एक टीमले हावड़ाको शिवपुरस्थित एउटा मलको नजिकैबाट एस.के. शाहिद कादरी, एस.के. अलिमुद्दीन एवं एस.के. फिरोजलाई पक्राउ गऱ्यो। यी तीनै जना ओड़िशाको भद्रक जिल्लाका हुन् भने यिनीहरू हावड़ाको गोलाबाड़ी क्षेत्रस्थित एउटा होटलमा बसेका थिए। यस होटलको खानतलासीमा पनि एउटा एटीएम कार्ड, आधार कार्ड र मोबाइल फोन जफत गरियो।
ब्यांक अकाउण्टलाई भाड़ामा लिइन्थ्यो-
पुलिसको शुरुआती जाँचमा यो कुरा पत्तो लागेको छ, आरोपीहरूले कतिपय मानिसहरूको ब्यांक खाता भाड़ामा लिन्थे। यी खाताहरूमा अनलाइन ठगीबाट जुटाएको पैसालाई ट्रान्सफर गरिन्थ्यो अनि त्यसपछि एटीएमको माध्यमबाट निकालिन्थ्यो। आधार र एटीएम कार्डहरूको प्रयोग पहिचान लुकाउन र पैसा निकाल्नको लागि गरिन्थ्यो।
पुलिस अब यस कुराको जाँचमा जुटेको छ, ओड़िशाका यी आरोपीहरू कोलकाता र हावड़ामा किन बसेका थिए। के यिनीहरूले कुनै ठूलो ठगीको योजना बनाइरहेका थिए? के यिनीहरूले स्थानीय आरोपीहरूसित मिलेर काम गरिरहेका थिए?
कोलकाता पुलिसको मान्यता छ, यो गिरोह देशका विभिन्न भागहरूमा भएको अनलाइन ठगीका घटनाहरूमा सामेल हुनसक्छ। मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै जाँचको घेरालाई बढ़ाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा