बिहारमा मतदाता पुनरीक्षण अभियानको विरोधमा संसद परिसरमा लगातार तेस्रो दिन विपक्षको प्रदर्शन
राहुल


नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। संसदको मनसून सत्रको तेस्रो दिन बुधवार कांग्रेसका पूर्व अध्यक्ष एवं लोकसभामा विपक्षका नेता राहुल गान्धीको नेतृत्वमा इण्डिया गठबन्धनका नेताहरूले संसद भवन परिसरमा प्रदर्शन गरे। यसमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव सहित धेरै प्रमुख विपक्षी नेताहरू सामेल भए। कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता दल (आरजेडी), द्रविड़ मुनेत्र कड़गम (द्रमुक) र अन्य विपक्षी दलहरूका नेताहरूले एकजुट भएर यस प्रक्रिया विरूद्ध आवाज उठाए।

प्रदर्शनमा सबै नेताहरूले आफ्नो हातमा पोस्टर लिएका थिए, जसमा लेखिएको थियो, एसआईआरले भारतीय नागरिकहरूको अधिकारहरूलाई खोसिरहेको छ। यी पोस्टरहरूमा ‘न्याय’, 'एसआईआर फिर्ता लेउ' र ‘लोकतन्त्र बचाऊ’ जस्ता नारा पनि लेखिएको थियो। विपक्षले आरोप लगाएको छ कि एसआईआरको प्रक्रिया पारदर्शी छैन र यो लोकतान्त्रिक मूल्यहरू विरूद्ध छ। यस विरोध प्रदर्शनको जानकारी कांग्रेस महासचिव केसी वेणुगोपालले एक्समा साझा गरेका छन्।

उनले लेखेका छन्, लगातार तेस्रो दिन, विपक्षका नेता राहुल गान्धीको नेतृत्वमा इण्डिया गठबन्धनले बिहारमा चलिरहेको घोर अलोकतान्त्रिक एसआईआर प्रक्रियाको विरोध गरिरहेको छ। संसदले यसमा तत्काल छलफल गराउनुपर्छ र यस प्रक्रियालाई तुरन्तै रोक्नुपर्छ।

उल्लेख्य, चुनाउ आयोगले बिहारमा आगामी विधानसभा चुनाउ अगाड़ी मतदाता सूचीलाई अपडेट गर्नका लागि मतदाता पुनरीक्षण अभियान चलाइरहेको छ। अहिलेसम्म 90.67 प्रतिशत मतदाताहरूले आफ्नो फारम भरेका छन्। यसपछि ड्राफ्ट मतदाता सूची जारी गरिनेछ र 30 सेप्टेम्बरसम्म अन्तिम मतदाता सूची प्रकाशित हुने अनुमान छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande