'जन उन्मुक्ति दिवस' पालनलाई लिएर पहिलो बैठक सम्पन्न
'जन उन्मुक्ति दिवस' पालनलाई लिएर पहिलो बैठक सम्पन्न


- जन उन्मुक्ति दिवस 'आमा सम्मान दिवस' को रूपमा पालन गरिने

गान्तोक, 23 जुलाई (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले प्रत्येक वर्ष 10 अगस्तमा पालन गर्दै आइरहेको 'जन उन्मुक्ति दिवस' यसपल्ट अझ भव्य र फरक तरिकाले मनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा यसपल्ट उक्त कार्यक्रमलाई जन उन्मुक्ति दिवस सँगसँगै 'आमा सम्मान दिवस' को रूपमा पालन गरिने पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेतीले आज जानकारी दिए।

आगामी जन उन्मुक्ति दिवस एवं आमा सम्मान दिवस कार्यक्रम सम्बन्धी आज रम्फू पर्यटन अतिथि गृहमा पहिलो बैठक आयोजन गरियो। पार्टीका कार्यकारी अध्यक्ष कुङ्गा निमा लेप्चाको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेतीले आमाहरूको सम्मानमा 10 अगस्तको जन उन्मुक्ति दिवससँगै आमा सम्मान दिवसको रूपमा पालन गरिने पार्टी अध्यक्षको निर्देश रहेको बताए।

आज बसेको सभामा कार्यकारी अध्यक्ष कुङ्गा निमा लेप्चा, सेक्रेटेरी जेनरल अरुण उप्रेतीका साथै पार्टीका मुख्य समन्वयक सोनाम लामा, मन्त्रीगण, विधायकगण, प्रवक्ता एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिरेन्द्र तामलिङ, प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय जेकब खालिङ र विकास बस्नेत, विभिन्न विभागका सल्लाहकारगण, अध्यक्षगण, ओएसडीगण, मेयर, उपमेयर, सीएलसी अध्यक्षगण लगायत पार्टीका विभिन्न पदमा रहेका पदाधिकारीगणको उपस्थिति रहेको थियो।

प्रथम आमा सम्मान दिवसको अवसरमा आमाहरूलाई सम्मान गर्दै 'सिक्किम आमा सशक्तिकरण योजना' अन्तर्गत आमाहरूलाई पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीद्वारा चेक हस्तान्तरण गरिनेछ। यस योजना अन्तर्गत आमाहरूका लागि प्रदान गरिने ग्यास सिलिण्डरसमेत सो कार्यक्रमबाट वितरण गरिने निर्णय गरिएको छ। विशेषतः पार्टीद्वारा जति पनि सञ्चालनमा ल्याइएका आमासित सम्बन्धित योजनाहरू छन्, ती योजनाहरूबाट लाभ प्राप्त गर्ने आमाहरूलाई यसै दिन सम्मानका साथ सहुलियत, सहयोग वा सेवा उपलब्ध गराइने बताइएको छ।

10 अगस्तको वृहत् समारोह सम्बन्धी आज बसेको पहिलो बैठकमा पार्टीका सेक्रेटेरी जेनरलले कामको बाँड़फाँड़सँगै पार्टी कार्यकर्तालाई विभिन्न जिम्मेवारी र दायित्व सुम्पिँदै सबैले दत्तचित्त भएर कार्यक्रलाई सफल पार्नमा सहयोग पुऱ्याउने आह्वान गरे। समारोहको निम्ति पुनः केही दिनमा दोस्रो तयारी बैठक आयोजन गरिने निर्णय गरिएको छ। आजको सभालाई पार्टीका प्रमुख समन्वयक सोनाम लामा र प्रवक्ता जेकब खालिङले पनि सम्बोधन गरेको जानकारी एसकेएम सोशल मिडिया शाखा अध्यक्ष नवीन दाहालले प्रेस विज्ञप्तिमा दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande