खरसाङमा अखण्ड हरिसंकीर्तन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न
खरसाङमा अखण्ड हरिसंकीर्तन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न


खरसाङ, 23 जुलाई (हि.स.)। खरसाङमा गत केही दिन अघि अखण्ड हरिसंकीर्तन समितिको आयोजनामा सम्पन्न जगन्ननाथ रथ यात्रमा सहयोग र सहभागिता जनाउने विभिन्न सङ्घ-संस्था, धार्मिक एवम् आध्यात्मिक सङ्घ-संस्था लगायत व्यक्ति विशेषप्रति आभार ज्ञापन गर्न तथा सम्मान जनाउन समितिले बुधवार खरसाङमा एउटा कार्यक्रमको आयोजना गऱ्यो।

खरसाङको एउटा होटलमा समितिका अध्यक्ष राजेन्द्र प्रसाद अग्रवालको अध्यक्षतामा सम्पन्न समारोहमा विशिष्ट अतिथिको रुपमा समितिका संरक्षक तथा खरसाङ राम मन्दिरका पुरोहित अखिलेन्द्रनाथ द्वीवेदी, आचार्य केशव मिश्र, पुरोहित पुरुषोत्तम अधिकारी, पेम्बा रिम्पोछे, रामकृष्ण आश्रमका सञ्चालक सुचितानन्द आनन्द, ब्रम्हकुमारी दुर्गा देवी, आचार्य महेश अत्रि, खरसाङ ट्राफिक ओसी बीरेन्द्र छेत्री, पुरोहित आनन्द पारेख, अधिवक्ता रमेश अग्रवाल, पुरोहित पुण्य प्रसाद शर्मा लगायत विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

समारोहमा यस वर्ष समितिद्वारा आयोजित रथयात्रामा सहयोग प्रदान गर्ने तथा सहभागिता जनाउने सबै आध्यात्मिक एवम् सामाजिक सङ्घ-संस्था, विभिन्न मन्दिर सञ्चालन समिति, प्रेस क्लब अफ् खरसाङका पत्रकारहरू तथा व्यक्ति विशेषलाई समितिको पक्षबाट खदा लगाएर, शाल ओडाएर अनि सम्मान पत्र तथा तुलसीको बोट प्रदान गरेर सम्मान जनाइयो।

समारोहमा अखण्ड संकीर्तनको महत्वबारे अखिलेन्द्रनाथ द्वीवेदीले आफ्नो विचार राखे भने पण्डित केशव मिश्रले तुलसीको महत्वबारे प्रकाश पारे। त्यसरी नै सनातन धर्मको संरक्षण र सम्बर्द्धनबारे पुरोहित पुरूषोत्तम अधिकारीले आफ्नो भनाइ राखे भने पेम्बा रिम्पोछे अनि अधिवक्ता रमेश अग्रवालले समारोह आयोजनाबारे आफ्नो मन्तव्य राखे अनि बीके दुर्गा देवीले धर्मको महत्त्वबारे प्रकाश पारिन्।

वक्ताहरूले विशेष गरी सनातन धर्म र यसको महत्त्वबारे जोड़ दिँदै यसको रक्षा अनि वर्तमान हाम्रा युवा पीढीमा यसबारे जागरुकता ल्याउनुपर्ने कुरो बताए। उनीहरूले हरि संकीर्तन समितिद्वारा गरिन्दै आइरहेको विभिन्न धार्मिक एवम् आध्यात्मिक कार्यक्रमहरूको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने आग्रह गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande