- नयाँ पुस्ताका नेताहरूमा परिवर्तनको चेतना र सेवाको भावना जागृत गर्न चाहन्छौं: चामलिङ
गान्तोक, 23 जुलाई (हि.स.)। एसडीएफ पार्टी मुख्यालयको सभागृहमा आज पार्टी केन्द्रिय कार्यकारिणी समितिको एक उच्चस्तरीय सभा पवन चामलिङको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो। सभाले 250 भन्दा अधिक पदाधिकारी सहित केन्द्रिय कार्यकारिणी लगायत जिल्ला समितिहरूको गठन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। साथै, सभामा हालै नवगठित राज्यस्तरीय तथा जिल्लास्तरीय समितिहरूका नवनियुक्त पदाधिकारीहरूलाई अध्यक्ष चामलिङको बाहुलीद्वारा कार्यालय आदेशपत्र हस्तान्तरण गरिएको बताइएको छ।
सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पवन चामलिङले नव नियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीप्रति निष्ठा, सक्रियता र उत्तरदायित्वका साथ अघि बढ्न आग्रह गरे। उनले भने, हामी नयाँ पुस्ताका नेताहरूमा परिवर्तनको चेतना र सेवाको भावना जागृत गर्न चाहन्छौं। पार्टीको हरेक संरचनालाई मजबुत बनाउँदै हामीले जनतासँगको सम्बन्ध अझै घनिष्ट बनाउनुपर्छ।
अध्यक्ष चामलिङले चेली मोर्चाको सशक्तिकरणप्रति विशेष जोड दिँदै महिलाहरूको प्रतिनिधित्व र नेतृत्व विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले महिला मोर्चालाई नीतिगत तहमा प्रभावशाली बनाउँदै संगठनात्मक तहमा पनि निर्णायक भूमिका निर्वाह गर्न प्रेरित गरे। उनले नव नियुक्त जिल्लास्तरका पदाधिकारीहरूले क्षेत्रीय तथा वडास्तरको समितिहरू यथाशिघ्र गठन गरि संगठनलाई अझै मजबुत बनाउने आह्वान गरे।
वरिष्ठ उपाध्यक्ष आर.आमोस लेप्चाद्वारा संचालित यस सभामा उपाध्यक्ष जूडी राईद्वारा स्वागत सम्बोधन र महासचिव गान्तोक जिल्ला बोनि लेप्चाको धन्यवाद ज्ञापन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल