गान्तोक, 23 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले गरेको 'नागरिक सुरक्षा दल' गठन गर्ने घोषणालाई लिएर सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले कडा प्रतिक्रिया जनाएको छ। एसकेएम पार्टीले सीएपीको उक्त घोषणालाई असंवैधानिक तथा देशको कानून र लोकतान्त्रिक प्रणालीको पवित्रतामाथि प्रत्यक्ष आक्रमण ठहर गरेको छ।
एसकेएम प्रवक्ता कविता सापकोटाले आज प्रेस विज्ञप्तिमा भनेकी छिन्, 'कुनै पनि व्यक्ति, समूह वा पार्टी कानून र भारतको संविधानभन्दा माथि हुन सक्दैन। राज्यको प्रहरीको बराबरको निजी सशस्त्र समूह बनाउने कल्पना नै शान्ति र सुरक्षा दुवैका लागि खतरा हो।' उनले प्रहरीको मुख्य काम सार्वजनिक सुरक्षा सुनिश्चित गर्नु, नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, सार्वजनिक शान्ति कायम राख्नु र न्यायालयको आदेश र निर्णयको कार्यान्वयन गर्नु रहेको बताएकी छिन्।
उनले अझ भनेकी छिन्, कुनै पनि निजी संगठनले 'सिक्किम प्रहरीको बराबरमा' काम गर्ने भनाइ राख्नु भनेको कानूनभन्दा माथि जाने प्रयास हो, जुन सीधा–सीधा देश र राज्यको शान्ति र सुरक्षा विरुद्धको चुनौती हो। सिटिजन एक्सन पार्टी देश, कानून र सुरक्षाभन्दा माथि हुन सक्दैन। यस्ता दाबी र क्रियाकलापहरू मूर्खतापूर्ण मात्र होइनन्, देशविरोधी सोचको परिचायक पनि हुन्।
नागरिकहरूको सुरक्षा र शान्ति स्थापना गर्ने जिम्मा संविधानले दिएको राज्यको कानुनी संयन्त्र अर्थात् सिक्किम प्रहरीको हो भन्ने एसकेएम दृढतापूर्वक विश्वास गर्दछ भन्दै उनले कानून र संविधान सधैँ यस्ता नाटकीय र गैरकानुनी विचारहरू भन्दा माथि रहने बताएकी छिन्।
उल्लेखनीय छ, सीएपी अध्यक्ष गणेश राईले राज्यमा विपक्षी राजनीतिक दल विरुद्ध हिंसात्मक गतिविधि बढ्न थालेको आरोप लगाउॅंदै विपक्षी पार्टीका परिवार, नेता र कार्यकर्ताहरूको सुरक्षा गर्न नागरिक सुरक्षा दल गठन गर्ने बताएका छन्। प्रशासन राज्यका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न विफल बनेको खण्डमा सीएपीले 2026 मा नागरिक सुरक्षा दल गठन गर्ने उनले घोषणा गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल