गान्तोक, 26 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम एकाइले आज 1999 को कारगिल युद्धमा भारतीय सशस्त्र बलको विजयको सम्मान गर्दै गान्तोकस्थित आफ्नो राज्य कार्यालयमा कारगिल विजय दिवस मनायो। प्रदेश उपाध्यक्ष दिनेशचन्द्र नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका कार्यकारीहरू र कार्यकर्ताहरू सहभागी बने र परम बलिदान दिने बहादुर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनेट मौनधारण गरे।
कार्यक्रममा मुख्य वक्ताका रूपमा उपस्थित मिडिया प्रभारी निरेन भण्डारीले कारगिल युद्धका प्रमुख पक्षहरू र अपरेशन विजयको सफलतामाथि प्रकाश पारे। उनले मोदी सरकारको नेतृत्वमा भारतको रक्षा क्षेत्रमा भएको परिवर्तनकारी प्रगतिमा पनि प्रकाश पारे। भण्डारीले आकाश र ब्रह्मोस मिसाइल जस्ता प्रणालीहरू मार्फत स्वदेशी रक्षा उत्पादनलाई बढावा दिँदै 'मेक इन इण्डिया' र 'आत्मनिर्भर भारत' जस्ता पहलहरू मार्फत आत्मनिर्भरतामा सरकारले ध्यान केन्द्रित गरिरहेको बताए।
उनले 2029 सम्म 50,000 करोड रूपियॉं बराबरको रक्षा निर्यातमा वृद्धिसँगै हाइपरसोनिक वाहन, काउन्टर-ड्रोन प्रणाली र अत्याधुनिक प्रविधिहरूसहित सशस्त्र बलको आधुनिकीकरणमाथि पनि प्रकाश पारे। उनले सैन्य दक्षता र मनोबल बढाउनको लागि अग्निपथ योजना, एक श्रेणी एक पेन्सन र सैन्य मामिला विभागको स्थापना जस्ता प्रमुख सुधारहरूको उल्लेख गरे। यस अतिरिक्त, उनले सेनामा महिलाहरूको सशक्तिकरण र निजी क्षेत्रसॅंग रणनीतिक साझेदारीलाई रक्षा क्षेत्रमा नवाचारको दिशामा महत्वपूर्ण कदम बताए।
यस अघि जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चाले भारतको सशस्त्र बलको वीरता र समर्पणलाई जोड दिॅंदै सबैलाई स्वागत गरे र यस अवसरको महत्त्वको बारेमा जानकारी गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल