गान्तोक, 26 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम अन्तर्गत मल्ली डाँडा वार्ड नं. १ को महिला परिषद् वार्ड स्तरीयसभा आज समष्टि अध्यक्ष कमला राईको अध्यक्षतामा सम्पन्न भयो। सिक्किमको वर्तमान राजनीतिक, सामाजिक एवं आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको उक्त सभामा सहभागीहरुले पार्टी अध्यक्ष गणेश राईको नेतृत्वमा मात्र राज्यको मुक्ति सम्भव हुने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा युनिट र वार्डस्तरका विषयमा गहन छलफल गर्दै महिला परिषद्को नयाँ समिति गठन गरियो। समितिमा अध्यक्ष बिष्णु माया राई, उपाध्यक्ष याङ्की लामा, सचिव सुष्मा तामाङ, कोषाध्यक्ष निरा प्रधान तथा सदस्यहरू कल्पना छेत्री, कृष्ण प्रधान, चन्द्र छेत्री र चन्द्र प्रधान सामेल छन्।
सभामा नव-निर्वाचित सदस्यहरूलाई शुभकामना दिँदै सहभागीहरूले सीएपीको सिद्धान्तप्रति प्रतिबद्ध रहन र संगठित रूपमा अघि बढ्ने संकल्प व्यक्त गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल