भूतपूर्व सैनिकहरुद्वारा घैयाबारीमा कारगिल विजय दिवस पालन
भूतपूर्व सैनिकहरुद्वारा घैयाबारीमा कारगिल विजय दिवस पालन


खरसाङ, 26 जुलाई (हि.स.)। भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओको आयोजनामा 1999 सालको कारगिल युद्धमा शहीद भएका जवानहरुलाई श्रद्धञ्जली अर्पण गर्दै घैयाबारीमा आज 26औं कारगिल विजय दिवस पालन गरियो। घैयाबारीस्थित कारगिल एनजीओको कार्यालयमा आयोजित कारगिल विजय दिवसको‌ अध्यक्षता पूर्व लेफ्टिनेन्ट जीवनसिंह गुरुङले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व सुवेदार मेजर एवं भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समष्टिका सभापति कृष्ण प्रधान उपस्थित थिए। जयराज थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण कारगिल एनजीओको कार्यकारी सदस्य सुरज तामाङले राखेका थिए। कार्यक्रमको शुरुमा कारगिल युद्धमा शहीद भएका वीर सपुतहरुलाई नमन गर्दै शहीद वेदीमा धुप दीप प्रज्ज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरियो र राष्ट्रिय गान गाएपछि सलामी दिइयो।

कार्यक्रममा सचिव देवपाल लामाले कारगिल एनजीओ र यसका विभिन्न कार्यहरु साथै कारगिल विजय दिवस विषयमा विस्तृत जानकारी गराए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पूर्व सुवेदार मेजर कृष्ण प्रधानले आफ्नो सम्बोधनमा भने, '1999 मा पाकिस्तानले कब्जा गरेको कारगिललाई भारतीय सेनाले जितेका थिए। यो युद्ध मई 1999 मा शुरु भएर जुलाई महिनासम्म चलेको थियो। भारतीय सेनाले 26 जुलाईमा विजय हासिल गरेको थियो र उक्त दिनलाई नै कारगिल विजय दिवसको‌ रुपमा पालन गरिन्छ।'

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथिको रुपमा उपस्थित नेताजी हाई स्कूलका प्रधान अध्यापक दिनेश प्रधानले घैयाबारीको कारगिल एनजीओले विगत 6 वर्षदेखि कारगिल विजय दिवस पालन गर्दै आइरहेको जानकारी गराए। उनले कारगिल एनजीओले गर्दै आइरहेका विभिन्न सामाजिक कार्यहरु विषयमा पनि चर्चा गरेका थिए‌। कार्यक्रमलाई पूर्व सचिव गणेश तामाङ र अशोक गुरुङले पनि सम्बोधन गरेका थिए‌।

कार्यक्रममा अध्यक्षीय सम्भाषण एवं धन्यवाद ज्ञापन अवकाशप्राप्त लेफ्टिनेन्ट जीवनसिंह गुरुङले राखेका थिए। कार्यक्रममा कारगिल बिजय दिवस विषयमा आधारित कविता अर्जुन योञ्जनले‌ वाचन गरेका थिए।‌

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande